पत्रकार महासंघ दार्चुलाले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना

दार्चुला । पत्रकारहरूमाथि भएको सामूहिक गिरफ्तारी र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएको छ ।

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने कार्यमा हालसम्म कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

त्यसैगरी पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको विषयमा महासंघले असन्तुष्टि व्यक्त गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । विरोध कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघले देशभर आज धर्ना दिएको छ ।

Leave A Reply

Your email address will not be published.