पुष्पराज जोशी/ दार्चुला -दार्चुलामा पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् ।
मानिसको जीवनशैलीलाइ सहज बनाउनको लागी गाउँघरमा भित्रिएका मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् । पहिला यस्ता प्रबिधीको प्रयोग गरि मानिसहरुले ढिकी जाँतोबाट धान कुटेर , मकै पिसेर दैनिकी चलाउथे भने ढिकी जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी जाँतोले गुञ्जायमान हुने गाउँघरका बस्ती आजभोलि सुनसान हुन थालेका छन् ।
ग्रामिण क्षेत्रमा प्रयोग हुने यस्ता साधनको संरक्षण नहुदाँ पुरानो जीवनशैलीसगँ जोडिएका ढिकी जाँता हातेमुसलजस्ता प्रबिधीहरु लोप भएर गएका छन । पुरानो इतिहास बोकेका प्रबिधीहरु संरक्षण गुर्नुपर्ने भएपनि संरक्षण हुन सकेको छैनन् । पछिल्लो समय आधुनिक बिद्युतीय सामाग्री आएपछि कुटानी तथा पिसानीका लागी मिल प्रयोग हुन थालेपछि गाउँमा भएका यस्ता प्रबिधी प्रयोग बिहिन बन्दै गएका छन । गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् कि भनेर आकलन समेत गर्न थालिएको छ ।
बिहानै उठेर कुटानीपिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका स्थानिय आजभोलि गाउँघरमा भित्रिएका मिल र आधुनिक घट्टले गर्दा सुविधा पाएको बताउँछन् । “पहिला ढिकी जाँतो, हातेमुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, सबैको घर सम्म मिलको बिस्तार भए पछि सुबिधा भएको ”, शैल्यशिखर नगरपालीका वडा नम्बर ८ का बिन्दु जोशीले‘ बताउनुभयो । “कुटानीपिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ लगाउने गरेका छौँ ”।
आधुनिक घट्ट र मिलले गाउँमा पाइने अन्नको स्वाद भने फरक बनाइदिएको लेकम गाउपालीकका वडा नम्बर १ का ७८ वर्षीया धौलि देबी साउदले भन्नुभयो, । “महिलाका दुःखमा कमी भए पनि ढिकी र जाँतोमा कुटानी पिसानी गरेका अन्नमा पाइने स्वाद हराउन छाडेको उहाँले बताउनुभयो ।
आधुनिक यन्त्रले विद्द्यालय जाने किसोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएकोे छ । करीब चारपाच वर्ष पहिला विद्द्यालय जानुभन्दा पहिला कुटानीपिसानी गर्नुपथ्र्यो, अहिले स्कूल बिदाको दिन मीलमा गएर धुलो पिसेर ल्याउने गरेको मालीकार्जुन गाउपालिका वडा नम्बर ३ का पुनम धामीले बताउनुभयो ।
घट्टमा पिसानी गरे बाफत गहुँ वा मकै दिइने चलन ग्रामीण भेगमा अझै रहेको छ । महिलाहरूलाई केही सुविधा भए पनि घट्ट , मिलमा मकै र गहु पिसाउनको लागी अहिले पनि महिलाहरु नै जाने गरेको पाइएको छ । आधुनिक परिवर्तनसँगै महिलाका दुःख देखेर पानीघट्ट बनाए पनि संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने नभएको शैल्य शिखर नगरपालीका वडा नम्बर ६ का कमल सिह धामीले बताए । उहाको पुरानो शिप तथा प्रविधिका साधनहरू ढिकी, जाँतो, जस्ता साधनको संरक्षण गर्न स्थानीय सरकार तथा युवा पुस्ताहरुले लाग्नुपर्ने उनको बुझाई छ ।
कुनैकुनै गाउँमा फाटफुट परम्परागत ढिकी जाँतो देख्न पाइन्छ । परिवर्तित समय, प्रविधिको विकास र मानिसको कष्ट गर्ने बानी हराउदैं जाँदा परम्परागत प्रविधि लोप हुन थालेको हो ।