सर्वप्रथम त आजदेखि हुन गइरहेकाे मेलाकाे सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । म दार्चुलेली र हाम्राे क्षेत्रकाे प्रमुख चाडपर्व, परम्परा र रीतिरिवाजहरू मध्ये जाैलजिबी मेला पनि प्रमुख मनाेरञ्जनात्मक चाडकाे रुपमा रहेकाे छ । यही २०८० मंसिर १ गतेदेखि धुमधामसँग जाैलजिबी मेला लाग्दैछ छ । मलाई पनि जाैलजिबी मेलाकाे झझल्को आइरहेकाे छ । हुन पनि झझल्को किन नआओस र ! सानाेमा जाैलजिबीबाट नै नुनतेल, लत्ताकपडा, भाँडाकुँडा आदि सरसामान किनमेल गरेकाे, घिउ लगायत गुड, सुन्तला, दलहनकाे बिक्रीवितरण गरेकाे तथा झन २ वर्ष आई. एस्सी. जाैलजिबीबाट नै गरेकाेले पनि कहिलेकाहीं आफू बसेकाे, अध्ययन गरेकाे, आवतजावत गरेकाे ठाउँकाे झझल्को त कसलाई पाे नआउला र ! अझ भन्नु पर्दा दिनभरी जाैलजिबी मेला हेरेर साँझ यसै मेलाबाट वि. सं. २०४६ सालमा जम्मु कास्मिरकाे यात्राकाे थालनी गरेकाे ।
दार्चुला जिल्लाकाे जाैलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरिदिएकाे छ । जाैलजिबी वारिपारि मंसिर – १ गते देखि १०/१२ गते सम्म प्रत्येक वर्ष ठुलाे मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्राे नेपालकाे तर्फबाट जुम्लाबाट सयाैंकाे सङ्ख्यामा घाेडाहरु जान्छन । दार्चुला जिल्लाका सबै क्षेत्रहरू दुहुँ, ब्यास, मार्मा र लेकम तथा छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, कैलाली र कञ्चनपुरबाट व्यापारगर्न र मेला हेर्न हजाराैंकाे सङ्ख्यामा मेला अवलाेकनकर्ताकाे उपस्थिति हुने गर्दछ । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घाेडाकाे माेल माेलाई गरी घाेडाहरुकाे किनबेच गरिन्छ । जाैलजिबी मेला दार्चुलाबासीका लागि ठुलाे पर्वकाे रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, हल्द्वानी, बरेली, टनकपुर, चम्पावत, लाेहाघाट, पिथाैरागढ, मुन्स्यारी, थल, गाेरीछाल, धारचूला लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जाैलजिबी मेलाकाे बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँकाे परिदृश्यकाे बारेमा पनि वर्णन गर्नु सान्दर्भिक हुन्छ ।
जाैलजिबी दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर ७ मा महाकाली नदीकाे किनारमा अवस्थित रमणीय ठाउँ हाे । अहिले त सडक बाटाे घाटाे यातायाकाे सुबिधा आदिले गर्दा भारतीय बजारमा व्यापार व्यावसायले गति लिन नसके पनि पहिलेकाे भने व्यपारिक नाका नै हाे । महाकाली नदीकाे पारि भारतमा पनि जाैलजिबी रहेकाे छ । उक्त ठाउँ महाकाली नदी र गाेरी गंगा नदीकाे संगम दाेभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जाेड्ने झाेलुङ्गे पुल रहेकाे छ । मेलाकाे बारेमा वर्णन गर्दैगर्दा यसकाे सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेकाे छु ।
२० औं शताब्दिकाे सुरुवात सन १९१४ मा भारत अस्काेटका पाल राजा गजेन्द्र बहादुर पालले जाैलजिबी मेलाकाे सुरुवात गरेका हुन् । त्यति बेला जाैलजिबी अति नै दुर्गम क्षेत्र थियाे । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्माेडा वा टनकपुर जाने गर्दथे । मानिसहरूकाे दु:ख कष्टलाई ध्यानमा राखेर बर्षभरीकाेलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लाे मल्लाे अस्काेटकाे केन्द्रबिन्दु महाकाली नदी र गाेरी नदीकाे संगम स्थल दाेभानमा अवस्थित अति रमणीय स्थान जाैलजिबी (भारत) मा अस्काेटी राजाले याे मेलाकाे सुरुवात गरेका हुन् । मेलाकाे लागि चाहिने आवश्यक सरसामानकाे लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बाेलाएकादथिए ।
मेलामा नेपाल र तिब्बतीहरूकाे उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरकाे मेला हुन पुग्याे । याे मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्याे । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूकाे उपस्थिती बन्द भयाे । तीस वर्षपछि भारत-चीन व्यापार प्रारम्भ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूकाे पसल लगाउन थालेका हुन् ।
अत: जाैलजिबी मेला दार्चुलाबासीहरूकाे लागि एक महत्त्वपूर्ण चाड मेलाकाे रुपमा रहेकाे छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुकाे सानदार प्रस्तुती, रामलिला, भाँडाकुँडा , कपडा, मिठाईँका परिकारहरू आदि सबै सुपथ र सुलभ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नाै वटै स्थानीय तहबाट हजाराैंकाे संख्यामा मेला भर्न जाने गर्दछन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जाैलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालकाे जुम्लाबाट आयातित घाेडाहरू पनि मेलाकाे विशेष आकर्षणकाे रुपमा रहेका हुन्छन् । समग्रमा महाकाली नदीले सिमाङ्कन गरेकाे नेपाल र भारतकाे सिमाना जाैलजिबीमा प्रत्येक वर्ष मंसिर -१ गतेबाट १०/१२ गते सम्म ठुलाे मेला लाग्ने गर्दछ ।
केही वर्षयता जाैलजिबी नेपालमा पनि पारि जाैलजिबी जस्तै भव्य मेला लाग्ने गर्दछ । यसपाली २०८० काे मेलामा पनि दार्चुलाकाे स्थानीय तह विशेषगरि मालिकार्जुन गाउँपालिकाले मेलालाई अझ सभ्य, भव्य र आकर्षक बनाउन साँस्कृतिक कार्यक्रमहरूकाे पनि आयाेजना गरेकाे छ । उक्त साँस्कृतिक समाराेहमा दामाहा, झ्याली, मसकिविन, विगुल, झाँकी सहित हुनैनाथ, मालिकार्जुनकाे फाग, झाेडाे, विभिन्न कलात्मक नाचगानका साथमा स्थानीय जनप्रतिनिधिहरू, भारतका जनप्रतिनिधिहरू, विशिष्ट व्यक्ति, समाजसेवी, वुद्धिजिवी लगायत नेपाल र भारतका हजाराैं दर्शकहरूकाे उपस्थिति हुनेछ ।
जाैलजिबी मेलाकाे परिदृश्य चित्रण गर्दै गर्दा यसकाे व्यवस्थापकीय पक्षलाई नसमेटेमा याे लेख मात्र नभइ मेला नै अधुराे पाे हुने हाे कि जस्ताे लागेर थाेरै यस मेलाकाे व्यवस्थापकीय पक्षलाई पनि समेट्ने प्रयास गरेकाे छु । यस मेलामा जाैलजिबी वारिपारि दुबै देशमा अनुशासित सुरक्षाकर्मीहरू तैनाथ गरिएका हुन्छन् । मेला स्थलकाे सरसफाइकाे लागि सेनिटेरियनहरूकाे व्यवस्था गरिएकाे हुन्छ । मेला स्थलमा हुने विभिन्न भैपरी आउने घटना तथा दुर्घटनाहरूकाे राेकथाम तथा नियन्त्रणकाे लागि प्राथमिक उपचार र प्राथमिक उपचारककाे पनि वारिपारि राम्रै व्यवस्था गरिएकाे हुन्छ । मेला स्थलकाे व्यवस्थापनकाे हाम्राे गाउँघरबाट पनि मानिसहरू काम गर्नकाे लागि जाैलजिबी मेलामा जाने गर्दछन् । मेला अवधिभर धेरै मानिसले राेजगार पनि पाएका हुन्छन् । पारि जाैलजिबी (भारत) मा मेला अवधिभर भब्य रामलिला लाग्ने गर्दछ । रामलिलामा दर्शकहरूकाे बस्ने व्यवस्थापनकाे लागि स्वयम् सेवकहरू परिचालित गरिएका हुन्छन् । मेलाकाे भिडभाडमा पाकेटमार तथा अन्य चाेरी नियन्त्रणकाे लागि सादा पाेशाकका सुरक्षाकर्मीहरूकाे बाक्लाे उपस्थिति हुने गर्दछ । मेलामा थरिथरीका मिठाईँहरू पाइन्छ्न् । बाल मिठाई, काेभिण्डाे मिठाई, खाेया मिठाई आदि उपलब्ध हुन्छन् ।
जाैलजिबी मेलाकाे प्रमुख आकर्षण मध्ये मिठाई पनि एक हाे । गांधी आश्रमकाे सिरक, गद्दा, भाँडाकुँडामा टम्के, भतेलाे, तावा, डिक्ची (सिल्भर), पराद (पित्तल), तामाका फाेंला (गाग्रो ), दन आदि सामानहरूकाे किनमेल हुने गर्दछ । जाैलजिबी मेलाकाे बखान सुन्दा पाठकहरूलाई एकपटक अवश्य पनि मेला हेर्न जाउँ जाउँ जस्ताे मनमा पक्कै पनि लाग्छ हाेला । केही वर्षयता लाेकतन्त्रकाे स्थापना पश्चात वारि नेपालमा पनि तडक भडक तथा धुमधामपूर्वक मेलाकाे आयाेजना हुने गरेकाे छ । नेपालमा मांस, मदिरा, चाइनिज सामानहरू, डाेकाे, नाङ्लाे, सुन्तला लगायतका खाद्य तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध हुन्छन् । अन्त्यमा याे लेख पढेर आवश्यक सुझावकाे अपेक्षा सहित जाैलजिबी मेलाकाे पूर्ण सफलताकाे कामना गर्दै अहिलेलाई भने कलमलाई बिट मार्छु । धन्यवाद !!!
श्री मालिकार्जुन र हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून् ।
क्रमशः …
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी
दार्चुला
स्राेत सामग्री :
जाेशी, गणेशराज (२०७६), मधुवन, शुभकामना प्रकाशन । प्रा.ली. : काठमाण्डाै
धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास, महेन्द्रनगर ।
पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत