दार्चुलाको शंकरपुर एक ऐतिहासिक स्थल

दार्चुला- दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा नम्बर ८ मा अवस्थित सुन्दर रमणीय स्थान गाउँपालिकाको सदरमुकाम शंकरपुर पस्ती हो । यो अति रमणीय शंकरको तपोभूमि मैले कक्षा १ देखि कक्षा १० सम्म बालापनको स्कूले जीवन विताएको जन्मभूमिको एक अंश पनि हो ।

शंकरपुरको बारेमा चित्रण गर्दा पाठकहरूलाई आफू जन्मेको, हुर्केको र बालापनको स्कुले जीवन बिताएको ठाउँलाई कसले पो नराम्रो भन्ला र ? भनेर भन्ने पक्कै पनि लाग्न सक्छ । तर यो लेखसंगै संलग्न जिउँदो तस्बिरले यो ठाउँसंग अपरिचित जो कोहिलाई पनि आकर्षक मनमोहक सुन्दर दृश्यले एकचोटी उक्त ठाउँको अवलोकनगर्ने मन पक्कै पनि लाग्छ होला भन्ने कुरामा विश्वस्त छु । हुनत आफू जन्मेको, हुर्केको, गाईभैंसी गोठालो गएको तथा पढे लेखेको ठाउँ मरुभूमि नै किन नहोस, नदीको तट जोखिमयुक्त ठाउँमा नै किन नहोस, भीर पाखा नै किन नहोस, कस्लाई पो नराम्रो लाग्छ होला र ।

तर शंकरको तपोभूमि शंकरपुर त्यस्ता जोखिमहरूबाट पनि पृथक रहेको कुरा अवगत गराउन चाहे ।

योजनाबिनाको काम चाहे सानै किन नहोस, अर्थहिन हुन्छ । त्यस्तै मेरो यो लेख पनि योजनाबिनाको अर्थहिन त हुने होइन कि ? भन्ने कता कता मनमा शंका उपशंका नलागेको भने होइन । शंकरपुरको बारेमा चित्रण गर्दा कताबाट सुरुगर्ने, के लेख्ने, कसरी लेख्ने आदि कुराहरू मनमा उब्जिएका छन् ।

कतै पाठकहरूले आफूलाई बढोत्तरीगर्न लेखकले यस्ता कुराहरू लेख्ने गर्दछ कि भन्ने पनि लाग्न सक्छ । तर मलाई कुनै ठाउँको बारेमा लेखेर, उक्त ठाउँको प्रसंशा गरेर लेखक, साहित्यकार, राजनीतिज्ञ केही हुनु छैन, किनकि म हातमुख जोर्न सक्षम र दुईचार जनाको मिल्नेसाथी पक्कै पनि छु । मैले यो लेख गाउँका समाजसेवी, बुद्धिजिवी, अग्रजहरू, शंकरपुरको बारेमा बढी जानकारहरू, बिभिन्न पुस्तकहरूको अध्ययन तथा आफू जन्मेको, हुर्केको, अध्ययन गरेको विद्यालय सेरोफेरोको परिवेशको प्रत्यक्ष अवलोकन र अनुभवका आधारमा तयार पारेको हुँ ।

यस लेखमा भएका कमीकमजोरीहरूलाई पाठकज्यूहरूले औंल्याई उचित पृष्ठपोषण प्राप्तहुने भरोसाका साथ लेखलाई गतिदिने अनुमति चाहन्छु ।

शंकरपुरमा विद्यालयतह देखि स्नातक तह सम्मको अध्ययन अध्यापनहुने गर्दछ । शंकरपुर माद्यामिक विद्यालयको सिरानमा करिब २०० मिटर माथि स्वास्थ्यचौकी र आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । स्वास्थ्यचौकी भन्दा माथि डाँडामा शिवमन्दिर रहेको छ । जहाँबाट शैल्य शिखर धामको प्रत्यक्ष दर्शन गर्न सकिन्छ । डाँडामा अवस्थित शिवमन्दिरबाट उत्तरतिर मालिकार्जुन गाउँपालिकाको वडा नम्बर –१,२ र ३ मड र भगवती अन्तर्गतका खोलीचोरा, बसेडी भौंतडी, बस्कोट, त्रिकाट, सन्नी, गजाल, भौंतडी, चौड, आरेबाटा, खुना, जगतबिसा, ठिङ, न्वालपानी, सिराड, गाडखोला, मौपानी, लेठ्ठे, रेवली, सजानी, मेलखेत, सुत्तने र महाकाली नगरपालिकाको वडा नम्बर –९ थापाला र माथि नागबेली आकारको बलशिखर, न्वालपानी शिखर धुरा सहजै अवलोकन गर्न सकिन्छ । शिवमन्दिरको उत्तरतर्फ बलशिखरको पारीपट्टी भारतको उत्तराखण्डमा पर्ने केही गाउँहरू, नन्दादेवी र नन्दकोट हिमालको दृश्यावलोकन गरेर प्रकृतिको आनन्दानुभूति गर्न सकिने कुरामा दुईमत नहोला ।

शंकरपुरको चारैतिर सल्लो, बाज, घङारु, किरमडा, ऐंसेलु, काफल लालिगुराँश, उतिस, मेल, काफल, आदि वनस्पतिहरूले जो कोहीलाई पनि मोहनी नलगाउला भन्न सकिन्न । यो ठाउँमा सल्लाहरूको घना जंगलले थप आकर्षण बढाएको छ ।

शंकरपुरबाट उत्तरतिर करिब एक किलोमिटरको दूरीमा भोरकोट भन्ने ठाउँमा १० शैय्याको अस्पताल भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ । शंकरपुरको पश्चिमतिर पौडीमाण्डौ लटिनाथ मन्दिर देखि करीब १०० मीटर तल त्रीभुवन प्राथमिक विद्यालय रहेको छ । जुन मैले कपुरी क, खरायो ख देखि कक्षा –३ सम्म पढेको विद्यालय हो । पौडीपाण्डौ लटिनाथ मन्दिरदेखि अझै पश्चिम गणेबाजको तल रगसखाली भन्ने ठाउँमा शंकरपुरबाट करिब २ किलोमिटरको दूरीमा मालिकार्जुन गाउँपालिकाको सदरमुकामको प्रस्ताव गरिएको छ । हाल शिलान्यास भएर गाउँपालिका भवनको निर्माण कार्यको थालनी भएको छ ।

तथापि अहिले पौलबिसामा सरकारी र अर्धसरकारी भवनहरूबाट सरकारी कामकाज सञ्चालन भइरहेको छ । हाल शंकरपुरमा अस्पताल, हुलाक, भेटरेनरी, आयुर्वेद स्वास्थ्य संस्था लगायतका सेवाहरू सञ्चालित छन् ।

शंकरपुर सेरोफेरोमा विभिन्न गाउँवस्तिहरू रहेका छन् । शंकरपुरको पूर्वमा मालिकार्जुन गाउँपालिकाको हुनैनाथ वडा नम्बर –४ अन्तर्गतको गोठ्युडी रहेको छ । गोठ्युडी गाउँमा अवस्थी ब्राह्मण र औल्लेकी हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूको बस्ती रहेको छ । शंकरपुरको दक्षिणमा सिराडी गाउँ पर्दछ ।

जहाँ जोशी, पन्त, खत्री, रावल, पार्की, धामीहरूको बसोबास रहेको छ । शंकरपुरको दक्षिण पश्चिममा बोरेपानी, गोरेकाणा, सच्चोरी, चोल्थी, रतोडा, कोटिला, टाटिक, आदि गाउँहरू रहेकाछन् । उक्त गाउँहरूमा पन्त, खत्री, बोहरा, ढोली, धामी, रावल, महरा, ओझा, जोशी, भाट, लेखक, सामन्त आदि जातिहरूको बसोबास रहेको छ । पस्ती गाउँको समथर मैदानीभाग पहाडको अन्नको भण्डार भन्दा अतिशयोक्ति नहोला ।

यो गाउँमा पन्त, धामी, बोहरा, लुहार, पार्की, ढोली आदि जातिको बसोबस स्थल हो पस्तीदेखि अगाडि पश्चिम जोगीलुटा, एकलेखाली, चस्कोट, गडानी, पन्तपाली, थलाबन्थाला, धमालेक, सानन्चौर, धरमपानी, जौलजिबी, चौकी, उकु, सलेती, श्रीपुर, पासादेउ, टाटिक, सिलाजो लगायतका गाउँहरू रहेकाछन् ।

उक्त गाउँहरूमा धामी, कुँवर, धानुक, भट्ट, ओझा, चन्द, महरा, जोशी, भाट, पन्त, मिश्र, पाल, आदि जातिका मानिसहरू बसोबास गर्दछन् । शंकरपुर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरू सुलभ र सुपथ मूल्यमा पाइन्छन् । जय हुनैनाथ ! जय मालिकार्जुन !!

शंकरपुरको पश्चिममा पस्ती गाउँ रहेको छ । पश्चिममा पस्ती, बुदेखोला, थकतोली, मौबसे, धामीगाडा, लेट्ठे, मानै, सजानी, सिराड, रेवली, भर्ताेला, सुत्तने लगायतका गाउँबस्तीहरू रहेका छन् । पस्ती गाउँलाई तराईको कुनै समथर फाँटसंग तुलना गर्दा पनि फरक नपर्ला । यो ठाउँ काशीराम पन्त (तवहिलदार) बाजेको बसोबास स्थल पनि हो ।

उनले राणाकालिन शासनको अन्त्यहुने बेला देशमा प्रजातन्त्रको स्थापनासँगै वि. सं. २०१० सालमा शंकरपुर हाइस्कुलको स्थापना गरेका थिए । जसले शिक्षाको उज्यालो घामबाट कसैले पनि बन्चित हुनु नपरोस भन्ने ध्येयका साथ अहोरात्र खटिएर दार्चुला जिल्लाकै पहिलो हाइस्कुल स्थापना गरि जनतालाई ठुलो गुन लगाएको छ । विद्यालय स्थापनामा महत्त्वपूर्ण योगदान पु–याउने महापुरुष द्वय स्व. काशीराम पन्त (तवहिलदार) बाजे र स्व. दामोदर जोशी (डाक्टर) बाजेलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । विद्यालय स्थापनामा स्थापना पश्चात विद्यालयको विकासमा योगदान पु–याउनुहुने तत्कालीन हुनैनाथ गाविस र गा.वि.स. अध्यक्ष श्री धन सिंह धामीको योगदानलाई इतिहासले कहिल्यै बिर्सने छैन । १६÷१७ वर्षे जवान ठिटो अवस्थामा श्री धन सिंह धामीले विद्यालय भवन निर्माणमा अहोरात्र खटिएर काम गरेको कुरा मैले उहाँकै मुखारबिन्दुबाट सुन्न पाउँदा औल्लेकीहरूको विद्यालय निर्माणमा महत्त्वपूर्ण योगदान रहेको कुराको उचित कदर गर्न सकिन्छ ।

तत्कालीन हुनैनाथ गा.वि.स. को योगदानको चर्चा गर्दा वि. सं. २०५१÷०५२ सालमा तत्कालीन गा.वि.स. अध्यक्ष श्री धन सिंह धामीले गा.वि.स. को विकास तथा राहत बजेटबाट हुनैनाथका जनताको गाँस खोसेर विद्यालयको विकासकोलागि तीन लाख रुपैयाँ प्रदान गरेको थियो । यस्तो पवित्र सामाजिक काममा सहयोग पु–याउनुहुने तत्कालीन अध्यक्ष लगायत गाविस परिवारलाई पनि धन्यवाद तथा हार्दिक नमन गर्दछु । हुनैनाथका जनताको गासलाई खोसेर उक्त रकम शंकरपुर विद्यालयलाई प्रदान गरिएको थियो । जसका साक्षी तपाईं हामी नै छौं । जे होस यस्ता मनकारी आत्मा र सहयोगी हातहरूलाई नमन गर्दछु ।

वि. सं. २०१० सालमा स्थापना भएको यस विद्यालयबाट देशले हाल सम्म ठुल्ठुला महान सपूतहरू जन्माइ सकेको छ । तत्कालिन समयमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातन्त्रको जग बसाउने प्रयास गरिएता पनि उचित मलजलको अभावमा प्रजातन्त्र फस्टाउन नसक्नुको तितो यथार्थ त छदैछ । तथापि विद्यालयको शैक्षिक प्रगति भने निरन्तर ओकालो लागिरहेको देख्दा जो कोहीकोलागि पनि गर्वको कुरा नै हुन सक्छ ।

यस विद्यालयले हालसम्म देशमा उच्च पदस्थ कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, राजनीतिज्ञहरू आदि उत्पादन गरि सकेको छ । तत्कालिन समयमा जिल्लाकै पहिलो हाइस्कुल भएबाट पनि सुदूरपश्चिम प्रदेशमै र विशेषगरी दार्चुला जिल्लाको ख्यातिप्राप्त ठाउँ शंकरपुर पस्ती हो । नाम, सुगमता, हावापानी आदिले गर्दा त शंकरपुरको महिमा वर्णनगर्न म संग पर्याप्त शब्दको अभाव छ जस्तो लाग्छ ।

शंकरपुरले जुन गतिमा छलाङ मार्नु पर्ने थियो, त्यो गति लिन नसक्दा शंकरपुरको शैक्षिक, आर्थिक, भौतिक आदि विकासका कार्यहरू ओझेलमा परेका छन् । वर्तमान अवस्थामा शंकरपुरमा राष्ट्रिय परीक्षा बोर्ड (ल्भ्द्य) द्वारा +२ सम्मको पढाई दक्ष तथा तालिमप्राप्त शिक्षकहरूद्वारा सञ्चालन भइरहेको छ । त्रिभुवन विश्वविद्यालय द्वारा सम्बन्धन प्राप्त शंकरपुर क्याम्पसमा स्नातक तह सम्मको शिक्षा शास्त्र संकाय र विज्ञान संकायको पढाइ हुने गर्दछ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने भन्ने निर्णय गरिएको भएतापनि नेताहरूको कार्यशैली, शिक्षाविदहरूको उदासिनता र सुदूरपश्चिम विश्वविद्यालयको लापर्वाहीले गर्दा सुदूरपश्चिमेली तथा दार्चुलाबासी जनताको आवश्यकता ओझेलमा परेको देखिन्छ । यस पटकको विश्वविद्यालय सभाले फेरि शंकरपुर क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने निर्उय गरेकोछ । यो क्याम्पस छिट्टै सरकारी क्याम्पस बनोस, यही छ शुभकामना !
क्रमश : ………………
मान सिंह धामी (भौनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ ४ गोठ्युडी, दार्चुला
स्रोत : पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास, महेन्द्रनगर

Leave A Reply

Your email address will not be published.