परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री बीच भेटवार्ता

दार्चुला  – संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।

यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कमा रुहेको स्थायी नेपाली नियोगले जनाएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो । नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा. खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

आजै मन्त्री डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कुटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिनुभयो ।

मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भएर मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गर्नुभएको पनि नियोगले जनाएको छ ।
महासभालाई सोमवार अपराह्न सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.