काठमाडौं– कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। विभिन्न मिडियामा शव भेटिएको भन्दै समाचार सम्प्रेषण गरिएपनी उनी अझैसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार (तराईमा होलीको दिन) कर्णाली पुलमाथिबाट १७ जनाले हाम फालेकोमा १७ मध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। उनी अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको हो।
प्रहरीले अहिले पनी उनको खोजी कार्य भइरहेको बताएको छ। सोमबार दिउँसो उनीसहितको युवाको १७ सदस्यीय टोलीले मादक पदार्थ सेवन गरेको अवस्थामा पुलमा सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती गएर हाम फालेका थिए। पछि हाम फालेका १६ जना सकुशल बाहिर निस्किएका थिए भने एक बेपत्ता भएका हुन्।