सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरियो, तत्काल पानी नपर्ने

दार्चुला । सुदूरपश्चिम सहित लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ । यो लक्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।

बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही पहाडी भेगमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका एक वा दुई ठाउँमा बेलुकातिर मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.