१६ हजार सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

काठमाडौं– नेपालका ५७ प्रतिशत सामुदायिक विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार १५ हजार ९६५ विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम छ ।

एक सयदेखि ५०० सम्म विद्यार्थी भएका विद्यालयको संख्या ९ हजार ७०४ छ भने एक हजार ६३६ विद्यालयमा ५०० देखि एक हजारसम्म विद्यार्थी छन् । यस्तै, एक हजारदेखि एक हजार ५०० विद्यार्थी रहेका विद्यालय ४४९/१३६ वटा विद्यालयमा एक हजार ५०० देखि दुई हजारसम्म विद्यार्थी छन् ।

दुई हजारमाथि विद्यार्थी भएका विद्यालय ०.४ प्रतिशत अर्थात् एक सयवटा मात्रै रहेको सर्वेक्षणले देखाएको छ । १५ वटा सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्या तीन हजार ५०० भन्दा बढी छ ।

बढ्दो बसाइँसराइ र घट्दो जन्मदरले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको सर्वेक्षणको निष्कर्ष छ । शैक्षिक सत्र २०८० मा सामुदायिक, संस्थागत, धार्मिक गरी विद्यालय संख्या ३५ हजार ८७६ पुगेको छ । तीमध्ये ७४.१ प्रतिशत सामुदायिक विद्यालय छन् ।

सर्वेक्षणले सामुदायिक विद्यालयको आधारभूत तह (कक्षा १–५ सम्म) विद्यार्थीअनुसार दरबन्दी र शिक्षकको अनुपात कम देखाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने शिक्षक सरुवा निर्देशिका २०८१ जारी गरेसँगै विद्यार्थी भारका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार हाल सामुदायिक विद्यालयका एक हजार ९०० शिक्षकको दरबन्दी मिलान गर्न बाँकी छ । विद्यार्थी संख्या कम भएकाबाट बढी भएका विद्यालयमा अन्तरविद्यालय शिक्षक सरुवाको प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिइन् । सर्वेक्षणअनुसार हाल देशभरका सामुदायिक विद्यालयमा एक लाख ९१ हजार (स्थायी दरबन्दीका) शिक्षक कार्यरत छन् ।

Leave A Reply

Your email address will not be published.