दार्चुलाको मालिकार्जुन मावि धापमा विद्यार्थीहरुद्वारा तालाबन्दी, पठनपाठन प्रभावित

दार्चुला- दार्चुलाको महाकालीका नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा आज विहानै तालाबन्दी गरिएको छ ।

विद्यालयमा अंग्रेजी विषयको शिक्षकको माग गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुले विद्यालयको मुल गेटमा तालाबन्दी गरेको बताइएको छ । विद्यालयको मुलगेटमा तालाबन्दी भएपछि अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरु समेत भित्र पस्न सकेका छैनन् ।

विद्यालयमा तालाबन्दी गरेर शिक्षकको माग गर्दै विद्यार्थीहरु पानीमै सडकमा उत्रिएका छन् । महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो ।

कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्तीका लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कक्षा ११ र १२ मा अध्यापनका लागि रिक्त अंग्रेजी राहत दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशन गर्न अनुमतीका लागि महाकाली नगरपालिकालाई माग गर्ने निर्णय गर्यो । सोही बमोजिम असार ६ गते महाकाली नगरपालिकाले उक्त विद्यालयलाई माध्यमिक तह कक्षा ११–१२ को अंग्रेजी विषयको राहत शिक्षक नियुक्ती गर्न १५ दिने सूचना प्रकाशन गर्न अनुमति दियो ।

विद्यालय व्यवस्थापन समितिको पुनः असार ३० गते बैठक बसी शिक्षक नियुक्तीका लागि भन्दै साउन १ गतेदेखि लागू हुने गरी १५ दिने सूचना प्रकाशन गर्ने निर्णय गरी साउन १ गतेको मितिमा सूचना प्रकाशन गर्यो ।

सोही दिन नै महाकाली नगरपालिकाले शिक्षक भर्ना प्रक्रिया अगाडि नबढाउन विद्यालयलाई पत्राचार गर्दै अर्को पत्र प्राप्त नहुँदा सम्म यथास्थितिमा राख्न आदेश दियो ।यसपछि मालिकार्जुन नमुना मावि धापको शिक्षक भर्ना विज्ञापन रद्ध भयो ।

धापको रिक्त उक्त दरबन्दीमा नौगाड गाउँपालिका–४ स्थितको सिप्टी माध्यमिक विद्यालयमा राहत दरबन्दीमै कार्यरत शिक्षक जगत सिंह चैसिरलाई ल्याउन कसरत भएको थियो ।

राहत दरबन्दीमै रहेका उनलाई अर्को पालिकाबाट ल्याउन कार्यविधिले नमान्ने भएपछि मालिकार्जुन नमुना मावि धापमा शिक्षक नियुक्ती लम्बिएको हो । यसमा नगरपालिकाले स्वार्थ खोजिरहेको आरोप छ । अहिले विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ ।

बुधवार (हिजो) पनि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु महाकाली नगरपालिका घेराउका लागि आउने तयारी गरेको बुझिएको छ ।तर, त्यसको जानकारी नगरपालिकाले पाएपछि नगर प्रमुख नरसिंह चैसिरले बिहीवार (आज) सम्म विद्यालयमा वैकल्पिक शिक्षकको रुपमा भएपनि नियुक्ती गरिसक्ने आश्वासन दिएपछि हिजोको आन्दोलनको कार्यक्रम विद्यार्थीहरुले स्थगित गरेका थिए ।

उनीहरुले बुधवारको कक्षाहरु बहिस्कार गरेका थिए । यस्तै विद्यालयमा गठित बाल क्लवले पनि थथासिघ्र शिक्षक पदपूर्ति गर्न आग्रह गर्दै पदपूर्ति हुन नसके थप आन्दोलनका कार्यक्रम अघि सार्ने बताएको छ ।

मालिकार्जुन मावि धापमा अंग्रेजी शिक्षक अभाव, पठनपाठन प्रभावित 

Leave A Reply

Your email address will not be published.