दार्चुला जिल्लाकाे चिनारी
सुदूरपश्चिमकाे अन्तिम विकट जिल्ला जुन भारतकाे उत्तराखणड प्रदेशकाे पिथाैरागढ जिल्लाकाे धारचुलासँग जाेडिएकाे छ । याे जिल्लालाई महाकाली नदीले सीमाङ्कन गरेकाे छ । याे जिल्ला राष्ट्रिय अन्तर्राष्ट्रिय चाँसाे र बहसकाे बिषय बनेकाे कालापानी, लिपुलेक, लिम्पियाधुराकाे बिवादास्पद चुच्चे नक्सा तथा २०७२ सालकाे बाढीबाट प्रभावितले गर्दा पनि झन चाँसाे र राजनीतिक दाउपेचकाे बिषय रहेकाे कुरामा द्विमत नहाेला । राज्यले चुच्चे नक्सा जारी गरि सकेकाे अवस्थामा कार्यान्वयन नहुनु र राजनीतिक दलहरुकाे निहित स्वार्थमा राष्ट्रिय मुद्दा र बहस गरिनुकाे कुनै औचित्य नभएकाे याे कलमकाे ठम्याई रहेकाे छ । यसरी दार्चुला जिल्लाकाे बारेमा चित्रण गर्दा कालापानी, लिपुलेक, लिम्पियाधुरा र चुच्चे नक्साले गर्दा पाठकलाई पढुँ पढुँ पक्कै पनि लाग्छ हाेला । यस लेखमा मैले जिल्लाकाे अवस्थिति, जात जाति, वन्यजन्तु, बालीनालीहरुकाे संक्षिप्त बिवरण यहाँहरु समक्ष पेसगर्ने जमर्काे गरेकाे छु ।
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका ४ जिल्ला मध्ये छुट्टै महत्व र पहिचान बाेकेकाे यो जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको छ । दार्चुला जिल्लालाई दुई ढुङ्गा बिचकाे तरुल भन्दा पनि फरक नपर्ला । दार्चुला जिल्लाको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाणहरू नभएता पनि विभिन्न किम्बदन्तिहरू रहेकाछन् । दार्चुला शब्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूलाबाट विकसित भएको हो । स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ । यस भेगमा खाना पकाउन प्रयोग गरिने चुल्होहरु प्रायः एक समानका तीनवटा ढुङ्गाहरुमा माटोले लिपेर (पोतेर) चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनैतिर चुचुरो (धार) जस्तो चुल्हो बनाई खाना पकाउने ठाउँ भएकोले धारचुला नाम रहेको र पछि अपभ्रंश भई दारचुला र त्यसपछि दार्चुला बन्न गएको हो भन्ने बुझाई रहेकाे छ ।
अर्को किंवदन्ती अनुसार यहाँ स्थित तीनवटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । तल फेदी बाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचीन कालमा व्याँस हिमालबाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तीन धारहरूको चुल्हो बनाई भात पकाएर खाएको हुनाले यो ठाउँको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रंश भई दार्चुला रहेको हो भन्ने अर्को भनाई रहेको छ । दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिब्बतसँग व्यापार गर्ने प्रमुख नाकाको रुपमा ब्यास क्षेत्र रहेको छ ।
ब्यासबाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भञ्ज्याङ पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वति भाषामा “ला” भनिन्छ । यो भज्याङ तिव्वत सिंत व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र “ला” शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्काे थरिकाे भनाई रहेकाे छ । यस जिल्लाको पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला रहेका छन् । विश्व मान चित्रमा २९ डिग्री ३६ मिनेट उत्तर देखि ३०डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग कि.मी. रहेकाे छ । समुद्री सतह बाट ५१८ मी. देखि ७१३२ मी. सम्म उचाईमा रहेकोछ। बार्षिक औषत बर्षा २१२९ मी.मी., त्यस्तै औषत तापक्रममा न्यूनतम ५.७० से. अधिकतम २८.६० से.रहेको पाइन्छ । यस जिल्लाको अग्लो अपी हिमाल, लिपुलेक आदि जिल्लाको आकर्षणको केन्द्र रहेकाछन् । यस्तै चीनको तिब्बत क्षेत्रमा अवस्थित हिन्दूहरुको महत्वपूर्ण तीर्थ स्थल तथा पर्यटकीय महत्त्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रुपमा समेत दार्चुला जिल्ला रहेको छ । यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा अवस्थित बाङ्गाबगड देखी गल्फै सम्म फैलिएर रहेकाे छ । यसकाे सिमाना भारतको धारचुला सित जोडीएर रहेको छ।
स्थानीय तह पुन:संरचना अनुसार दार्चुला जिल्ला एक संसदीय विकास क्षेत्र, २ वटा नगरपालीका : महाकाली नगरपालिका, शैल्यसिखर नगरपालिका (जम्मा वडा संख्या १८), ७ गाउँपालिका : मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, नाैगाड गाउँपालिका, मार्मा गाउँपालिका, ब्याँस गाउँपालिका, अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, (वडा संख्या ४३) गरी जम्मा ६१ वडहरुमा विभाजित छ । व्याँस गाउँपालिका भारत र चीन संग सिमाना जोडिएकोछ त्यस्तै दुहुँ गाउँपालिका, महाकाली नगरपालीका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाकाे भारतसँग सिमाना जोडिएकोछ ।
यस जिल्लामा बसाेबासगर्ने जातिहरु :- धामी, ठगुन्ना, वडु, अवस्थी, पाल, पन्त, ओझा, कार्की, बाेहाेरा, टेर, काेली, शाहु, मिश्र, कुटियाल, थापा, बिष्ट, माल, बस्नेत, सुनाम, सिताेला, भण्डारी, क्षेत्री, बगाल, ढाँट, चुनारा, लेखक, तितरा, दमाई, सामन्त, साउँद, मार्कण, लुहार, पार्की, भाट, भट्ट, खत्री, जाेशी, रावल, डाँगा, मन्याल, डाेबाल, तिङ्करी, पाण्डे, नगारी, महर, महरा, पुजारा, देउरुखी, फराल, ग्वाइला, डडाल, ताेलीगाई बाेहाेरा, रैखाेला, लावड, सिंह, काेट्टारी, बुढामगर, निराैला, श्रेष्ठ, विश्वकर्मा, सार्की, राउत, बुढाथाेकी, शाहु, हुड्के, बम, बडाल, खाती, टमटा, बादी, राना, चैसिर, थलाल, फर्सवान, लाेथ्याल, गुरुङ, ठेकरे, ऐतवाल, जाग्री, नगाल, खडायत, ढाेली, चन्द, धानुक, कुँवर, महता, गिरी, नाथ आदि बसाेबास गर्दछन् ।
हिमालपारिकोे मुस्ताङ जिल्लाजस्तै दार्चुला जिल्लाको व्याँस गाउँपालिका पनि अपि, नम्पा र सैफाल हिमाल पारी व्याँस क्षेत्र पर्दछ । व्याँस क्षेत्र बाट चीनको स्वशासित क्षेत्र तिब्बत जान मुख्य चारवटा नाकाहरु रहेका छन । लिम्पियाधुरा (१० हजार ८ सय ५० फिट), लेलोङग भञ्ज्याङ (१७ हजार ४ सय फिट), लिपुलेक भञ्ज्याङ (१६ हजार फिट) र तिंकर भञ्ज्याङ (१६ हजार ८ सय फिट) उचाइमा रहेका छन । यीमध्ये लिपुलेक भञ्ज्याङ सबभन्दा कम उचाइको, सजिलो र चलनचल्तीको तिब्बत प्रवेश गर्ने नाकाकाे रुपमा रहेकाे छ । व्याँस गाउँपालिका अन्तर्गत दुईटा मात्र गाउ– छाङरु र तिङ्कर पर्दछन । तिब्बत र भारतका माथिल्ला गाउँहरुमा जानकाे लागि सीतापुल स्थानीय भाषामा “स्यन्ठा छम” भएर नेपाल प्रवेश गर्नु पर्छ । त्यहाँबाट तिब्बत र कुटी, नावी, गुन्जी, रोकाङ्ग र नपन्च्यु पनि जाने गर्दछन । उल्लेखित पाँच गाउँका बासिन्दा तिब्बत जाँदा “खा” नदीको पुल तरेर पंकौवा आउने र लिपुलेक भञ्ज्याङ्ग भएर जानु पर्दछ । स्थानीय बासिन्दा बाहेक अन्य व्यापारी, तीर्थयात्री, सरकारी कर्मचारी तथा पर्यटक पनि सीतापुल तरेर नेपाल आउने र कौवा, तिल्सी, स्यंचिम हुदै लिपुलेक भञ्ज्याङबाट तिब्बत जाने गर्दछन् ।
यस जिल्लाकाे खेतीपातीहरुमा :- धान, मकै (घाेका), गहूँ, सनपाट, काेदाे, फापर, कागुन (काैन), अल्लाे, अालस, नप्पल, बाजुरा, मर्सी, बाेडी (साेट्टा), मास, भटमास, गहत, गुराँस, जाैं, जुनेलाे, मसुर, राज्मा, कलाैं (केराउ), भाङ, तिल, ताेरी, सरसाें आदि प्रमुख बालीहरु हुन । जनावरहरु :- बाघ, ओद, वनढाडु (वनबिरालाे), न्याउरी मुसा, भालु, रतुवा (कांकड), घाेरल, नाउर, जरायाे, खरायाे, कस्तुरी, मलसाप्राे (मलबाेसाे), चित्तल, ग्वाणाे, दुम्सी, बाँदर, गुना, स्याल, वनकुकुर, थार, बँदेल, आदि पाइन्छन् ।
दार्चुला जिल्ला प्राकृतिक रुपले धनी मानिन्छ । यस जिल्लामा पाइने वनस्पतिहरु मध्ये देवदार, बाँज, सल्लो, साल, टुनी, उतीस, सिमल, चिउरी, लालीगुराँस, बास, कोइराल, मेल, बेल्टाे, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, भ्याैल, सिर्पा, खन्या, तिमिलाे जस्ता वनस्पती पहाडी क्षेत्रका भूगोलमा पाइन्छन् । साथै फलफूलहरुमा केरा, ओखर, आरु, आरुबखडा, अम्बा, मेवा, काफल, ऐसेलु, किरमडा, नासपाती, माैसमी (माल्टा), जामिर, भाेगटे, सुन्तला, करमफल, कागती, चालिसाे (अमृतफल), हलुवावेद, माेतिकाँकडी आदि पाइन्छन् । जडिबुटीहरुमा यार्सागुम्बा, पाँचऔंले, झ्याउ, भूतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाखनदेव, पदमचाल जस्ता अमुल्य जडिवुटिहरु हिमाली भेगका जंगलमा पाइन्छन् । यि बाहेक दार्चुला जिल्लामा दारुहल्दी, तितेपाती, लोठसल्ला, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, मुसेबेला, भिणेती, सिलाजित, बजखार, कैराैंकाे जरा, श्रीखण्ड, सिम्मे जरा, सिस्नाे, चिराइताे, पिपसाेसाे, काफलबोक्रा ओखरबोक्रा, धुपीपात, तेजपात र रिठ्ठा आदि जडिवुटी समेत पाइन्छ । यसरी दार्चुलामा पाइने अमुल्य जडिबुटीको ब्यापार तिब्बत र भारतिय भूमीमा हुने गरेको छ । दार्चुला जिल्लाका धामिर्क तथा पर्यटकीय क्षेत्रको लागी पनि महत्वपूर्ण जिल्ला मानिन्छ । छिमेकी मित्रराष्ट्र भारतका विभिन्न शहर बाट पहाडी एवं हिमाली दृश्यावलाेकन गर्न प्रत्येक वर्ष मानिसहरु आउने गर्दछन । अपी हिमाल, ब्यास हिमाल र नाम्पा हिमालले दार्चुलामा पर्यटकहरुको समेत आगमन गराएको छ । सुरमासरोवर ताल, लिपु लेक र धर्मी गुफा शिखर डाँडा जस्ता प्राकृतिक सम्पदाले गर्दा दार्चुलामा आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकेको छ । त्यसैगरी मालिकार्जुन मन्दिर, हुनैनाथ मन्दिर औतालेक, (सर्माेली, सलेती), लटिनाथ मन्दिर जयपुर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाउ, उकु महलको भग्नावशेष, लटिनाथ मन्दिर पाैडीमाण्डाै शंकरपुर, गोकुलेश्वर शिव मन्दिर जस्ता ऐतिहासिक धार्मिक महत्त्व मठ मन्दिर र प्राकृतिक सम्पदा जस्ता मनाेरम दृश्यहरूले पनि पर्यटकहरुलाई आकर्षित गरेकाे छ ।

मान सिंह धामी (औल्लेकी)
मालिकार्जुन गाउँपालिका -४ हुनैनाथ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला