अहो! सुन्दर मेरो देश, स्वर्गझैँ लाग्ने भूमि,
दार्चुला शैल्यशिखर, देवस्थली पावन थलो।
शिरमा सेता हिमाल, चाँदीका मुकुट बनी,
जन्मभूमि नेपालको, जय होस्, जय जन्मभूमि!
आकाश चुम्ने चुचुरा, देवभुमीको देश यो,
तल्तिर डाँडापाखामा, हरियालीको साम्राज्य।
कुटी एउटा सानो, जलकुण्ड छेउ उभिएको,
शान्तिकाे प्रतीक छ, प्रकृतिको प्रिय आलिङ्गन।
सत्यम् शिवम् सुन्दरम्, छाँया छ जलमा हेर!
माथि नीलो गगन, तल निर्मल त्यो तलाउ।
गाईवस्तु चरिरहे, गोठालाको साथमा,
जीवनको सरलता, कति मोहक यो ठाउँ।
ढुङ्गाको त्यो मन्दिर, फूलले सजिएको छ,
आस्था बोकी यहाँ, मनको शान्ति खोजिन्छ।
पहाडकी रानी नेपाल, स्वर्गको टुक्रा तिमी,
शैल्यशिखरको काखमा, भवानीको वास भूमि।
मन चङ्गा हुन्छ, यो दृश्य देख्दाखेरि,
धर्ती हाँसेकी छे, हिमालसँग प्रेम गरी।
कण कणमा छ सुन्दरता, जहाँ पुगे नि नेपाली,
जय होस्, जय जन्मभूमि, जय जननी तिमी!
सयौं फुलको माला, सजिएको यो देश,
विविधतामा एकता, हाम्रो हो विशेष।
वीर गोर्खालीको रगत, बगेको यो माटो,
यो सुन्दर जन्मभूमि, कति प्यारो लाग्दो।
लेखक :- प्रकाश चन्द्र मिश्र