बिचित्र बेला

डा. टेकराज पन्त

कस्तो बिचित्रको बेला, आयो आज सबैतिर।
हुन थाले सबै कामआफ्नै ॲाखा अघिल्तिर।१।

मान्छे विवश छन् सप्पै, तमाशा मात्र हेर्दछन्।
देखे पनि नदेखे झैं, गर्दछन् मौन बस्तछन् ।२।

अपराधी प्रवृत्तिको, नै छ फूर्ती जताततै।
न्याय आफै लुकेको छ, देखिदैन कहीं कतै।३।

जंगली राज झैं आज, अवस्था छ समाजमा ।
मन्परी नै चलेको छ, अशान्ति छ जहॅा तहॅा।४।

बुद्धका देशमा क्रान्ति, सुन्दा अप्रिय लाग्दछ।
धर्म संस्कृति नै भष्म, भएमा दुःख लाग्दछ।५।

नव निर्माणको सट्टा, हुंदैछन् ध्वस्त संस्कृति।
भित्रिदैछन् सधैं नौला,अपसंस्कृति विकृति।६।

न रह्यो शिष्टता बॅाकी, न कतै अनुशासन।
न छ बन्धुत्वको भाषा, न कतै अभिवादन ।७।

आफ्नै समाजमा आफै, त्रस्त भै बस्नु पर्दछ।
कस्तो विडम्वना होला, जे पनि झेल्नु पर्दछ।८।

जो छन् रक्षक ऊ आफै, शरणार्थी सरी भए।
आफ्नै कारणले आफै, प्रवासी झैं हुंदै गए।९।

चारैतिर छ सन्त्रास, चारैतिर अनिश्चय।
चारैतिर छ सन्नाटा, चारैतिर छ संशय।१०।

जेभए पनि आशा छ, निस्कन्छ हल हालको।
कालो बादलमा घेरा,हुन्छ नै शुभ्र चॅादीको।११।

डा. टेकराज पन्त
अस्टिन, अमेरिका

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!