कृष्ण महरा, दार्चुला । गत भदौ १३ को बाढी र पहिरोले दार्चुलास्थित दुँहु गाउँपालिकाको अधिकांस भाग सकिएको छ । बाँकी भागपनि अति उच्च जोखिममा छ ।दुँहुबासीको दु:ख, दर्द र पीडा हेरिनसक्नु छ । सरकारको साथ, सहयोग र सदासयता बिना दुँहुमा कुनै व्यक्ति विशेष वा सामाजिक संघ, सस्थाहरुले जतिसुकै साथ सहयोग दिएपनि त्यसले तत्कालिक समस्या समाधान त होला, तर दीर्घकालीन समस्या समाधान र उचित व्यवस्थापन सम्भव छैन । त्यसैले, दुँहु गाउँपालिकाले सरकारको साथ, सहयोग, समर्थन र सदासयता खोजेको छ ।
थोरै रुखो भाषामा लेख्न बाध्य भएको छु, गल्ती भए माफी चाहन्छु ।
गाउँबाट सदरमुकाम पसेपछि थाहा पाए गृहमन्त्री बालकृष्ण खाडले बझाङ, बैतडी र डडेल्धुरामा बाढी-पहिरोको क्षतिको अवलोकन र निरीक्षणपश्चात् ती तीनै जिल्लाहरुलाई विपदग्रस्त जिल्ला घोषणा गर्ने तयारी गर्नुभएछ । ठिकै हो,निरीक्षण, अवलोकन नै नगरिएको दार्चुलालाई कसरी गृहमन्त्रीले विपदग्रस्त जिल्ला घोषणा गरुन ? दार्चुलाजस्तो बाढी र पहिरोले क्षत विक्षत जिल्लालाई विपदग्रस्त जिल्ला घोषणाको सूचीमा नपारिनुमा दार्चुलाका कुनै मन्त्री वा सांसदलाई दोष दिन चाहन्न, त्यसको दोषी हामीपनि हौ, बाढी-पहिरोले छतविछत दार्चुलाको वास्तविक अनुहार बाहिर ल्याई उचित राहत र व्यवस्थापनका लागि आफ्ना जनप्रतिनिधिलाई झक्झक्याउन नसक्नु हाम्रोपनि कमजोरी हो ।
डडेलधुरामा जन्मिएर बैतडीको सिमासम्म मात्रै अवलोकन गरेर फर्किने प्रधानमन्त्री शेर बहाँदुर देउवा र रुपन्देहीमा जन्मिएर बझाङको सिमासम्म मात्रै अवलोकन गरेर गृहमन्त्री फर्किनु भयो र दार्चुलाको बाढी पहिरोको अवलोकन-अनुगमन भएन, दार्चुला विपदग्रस्त जिल्लाको सूचीमा परेन भनेर के रोईलो गर्नु, किन दुस्ख मनाउ गर्नु ?
२०७४ सालमा कैलालीको मोहन्याल गाउँपालिका, बाकेको नरैनापुर गाउँपालिका लगायत देशभरका नगरपालिकासमेत गरी २१ जिल्लाका ५७ स्थानीय तहहरु पिछडिएको क्षेत्रमा समावेश गर्दासमेत दार्चुला जिल्लाका कुनैपनि स्थानीय तह पिछडिएको क्षेत्रमा नपार्ने प्रधानमन्त्री यिनै होइनन् र ?
पहुँच, आर्थिक, सामाजिक, भौगोलिक लगायत सबै किसिमले पिछडिएको दार्चुलालाई पिछडिएको क्षेत्रमा नपार्ने तत्कालीन प्रधानमन्त्री देउवाको निर्णयविरुद्द ४ वर्षदेखि म एक्लै सर्वोच्च अदालतमा मुद्दा लडिरहेको बेला विपदग्रस्त जिल्ला घोषणा गराउन पनि सर्वोच्च जानुपर्ने हो ।
आम दार्चुलाबासी जनताले निर्वाचित गराएर संसद र मन्त्रीपरिसदमै पुर्याउदापनि दार्चुलाको पीडाको अवलोकन, निरीक्षणसम्म नभएपछि संकटरविपदग्रस्त जिल्लाको सूचीमा दार्चुला जिल्ला परेन भन्दै प्रधानमन्त्री देउवा र गृहमन्त्रीलाई के दोष लाउनु ?
अझैपनि केही बिग्रेको छैन, सरकारले साथ, सहयोग र सदासयता देखाउनेछ र दुँहुबासी बाढी-पहिरो पीडितहरुको उचित व्यवस्थापन गर्नेछ भन्ने पूर्ण आशा लिएको छु ।
दार्चुलालाई विपदग्रस्त जिल्ला घोषणा गर्न योग्य छ या छैन, यो र यसपछिका तस्वीरहरुले देखाउनेछ ।
जिल्लामा दार्चुलास्थित दुँहुका सम्पूर्ण बाढी(पहिरो पीडितहरुसंग हामीले भेटघाट गरेका छौं, दिन त केही सकिएन तर सुखदुःख बाडेका छौं, मायाप्रेम साटेका छौं । दुँहुका सम्पूर्ण बाढी(पहिरो पीडितहरुसंग सुखदुःख बाड्न गरमोरा युवा समाज का युवाहरुले निकै साथ दिनुभएको थियो ।
३बाढी-पहिरोले सबैभन्दा क्षतिग्रस्त दुहु-५ र ३बथ्थोलीको स्थिति जस्ताको त्यस्तै
लेखक : अधिवक्ता, कृष्ण महरा
दुँहु गाउँपालिका वडा नम्बर ५ दार्चुला, हाल काठमाण्डौ