बसन्त कुमार जोशी, दार्चुला ।दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ भित्र लाखौं लगानीका निर्माण गरिएका दर्जानौ खानेपानी योजनाहरु अव्यवस्थित बनेका छन ।
जिल्ला खानेपानी कार्यालय दार्चुलाको लगानीमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएका खानेपानी योजनाहरु को अवस्था जिर्ण बनेको हो । सरकारी र गैरसरकारी निकायहरु बाट निर्माण भएका खानेपानी योजनाहरु विभिन्न समयमा आएको बाढी पहिरोले बगाएको र पुन निर्माणमा कसैले ध्यान नदिदा बर्षैदेखि खानेपानीको समस्या झेल्दै आएको स्थानीयहरुको भनाई छ।
वडा नम्बर ८ को झरकडा, बुङा ,पतेगैर ,मल्लालेक, सुपले,तलचौरा , मलचौरा,बल्लेजुडा र आसपासका ठाउँहरुमा खानेपानीका धारा, ट्यान्कि र पाईपहरु भए पनि पिउने पानीको चरम अभाव हुने गरेको स्थानीय बासी हरुको गुनासो रहेको छ ।
बर्सेनि खानेपानीको अभाव नहोस् भनी पुनर्निर्माण र स्तरोन्नतिका लागि विभिन्न निकायहरूले बजेटको ब्यवस्थापन गरे पनि कागजी प्रक्रिया पूरा गरि दुबैको मिलेमतोमा बजेट सक्ने गरेको नाम नखुलाउने सर्तमा एक जना स्थानीय बताउनुभयो ।
करिब ७-८ बर्ष अगाडी ५२ लाख लगानीमा वडा भित्रका ३ गाउँका झन्डै २ सय परिवारकालागी निर्माण भएको खानेपानी योजना २ हप्ता नबित्दै बन्द भएको थियो । अहिले सो खानेपानी योजनाका केही ट्यान्की र धाराहरु रहेका छन, भने मुहान देखि गाउँ सम्म करिब ६ किलोमीटर दुरिमा रहेका जिआई पाईपको एक टुक्रा नरेहेको स्थानीय रबि जोशीले जानकारी दिनुभयो ।
गाउँमा स्थानीय हरुले बर्सौ देखि खानेपानीको समस्या झेल्दै आई राखेका छन। खानेपानी समस्या समाधानको लागी स्थानीय सरकार र वडा कार्यलयले पनि ध्यान नदिएको एक जना स्थानीय कोमल जोशीले गुनासो गर्नुभयो ।
खानेपानी समस्या समाधानको लागी प्रदेश सरकारबाट गोकुलेगाड मल्लालेक लिप्ट खानेपानी योजना निर्माणधिन अवस्थामा रहेको वडा नम्बर ८ का वडा अध्यक्ष अजव सिंह विष्टले बताउनुभयो ।
प्रदेश सरकारको लगानीमा जिल्ला खानेपानी कार्यालय अन्तरगगत उक्त योजना निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो। २०७७ साल देखि निर्माण भइरहेको उक्त आयोजनामा पनि अहिले बजेट अभावले काम रोकिएको वडा अध्यक्ष विष्टले बताउनुभयो । बजेट अभावमा काम रोकिएको छ, बजेटको व्यवस्था भए २ – ४ महिना भित्रै काम सकिन्छ उहाँले भन्नुभयो ।
उक्त आयोजनाको करिब ८० प्रतिशत काम सकिएकोले छिट्टै वडामा खानेपानीको समस्या समाधान हुने वडा अध्यक्ष विष्टले बताउनुभयो ।