समाजसेवाबाट राजनीतिसम्म : को हुन् धर्मानन्द जोशी ?

दार्चुला । पछिल्लो समय नेपाली राजनीतिलाई स्वार्थ, सत्ता र पदको सीमाभित्र मात्र केन्द्रित रूपमा हेर्ने धारणा बलियो बन्दै गएको छ। तर यही परिवेशमा पनि केही यस्ता व्यक्तित्वहरू छन्, जसले राजनीतिलाई सेवा, समर्पण र उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा आत्मसात् गरेका छन्। दार्चुला जिल्लामा यतिबेला त्यही भरोसाको नाम बनेका छन्—धर्मानन्द जोशी।
लामो समयदेखि समाजसेवामा निस्वार्थ रूपमा सक्रिय रहँदै आएका जोशी पछिल्लो समय जनस्तरमा सकारात्मक छवि बनाउँदै औपचारिक राजनीतिमा प्रवेश गरेका हुन्। कुनै तामझाम, अनावश्यक प्रचार वा व्यक्तिगत स्वार्थभन्दा टाढा रहेर शिक्षा, बालबालिका र विपन्न समुदायको पक्षमा उहाँले गरेको योगदान दार्चुलाबासीका लागि प्रेरणाको विषय बनेको छ। स्थानीय स्तरमा उहाँलाई “काम बोल्ने नेता” का रूपमा चिन्ने गरिन्छ।
शिक्षा क्षेत्रमा धर्मानन्द जोशीको योगदान विशेष रूपमा उल्लेखनीय छ। उहाँले दार्चुला जिल्लाका दुई विद्यालयमा ११/११ लाख रुपैयाँका दरले जम्मा २२ लाख रुपैयाँ बराबरको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्नुभएको छ। यो कोष केवल आर्थिक सहयोगमा सीमित नभई गरिब तथा जेहेन्दार विद्यार्थीहरूको भविष्य सुरक्षित गर्ने दीर्घकालीन सोचको प्रतीक बनेको छ। शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो भन्ने विश्वासलाई यसले अझ बलियो बनाएको शिक्षकमाझ चर्चा छ।
यसका साथै विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोसाक, शैक्षिक सामग्री र आवश्यक सहयोग उपलब्ध गराउँदै जोशीले बालबालिकाको आत्मसम्मान र हौसला बढाउने काम गर्दै आउनुभएको छ। अभिभावकहरूका अनुसार यस्ता सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै पढाइलाई निरन्तरता दिन ठूलो भूमिका खेलेको छ।
शिक्षामा मात्र नभई सामाजिक सेवाका अन्य क्षेत्रहरूमा पनि जोशी सधैं अग्रपंक्तिमा देखिँदै आएका छन्। विपद्, आर्थिक अभाव वा सामाजिक समस्यामा परेकाहरूका लागि सहयोगी हात बढाउने उहाँको व्यवहारले स्थानीय समुदायमा गहिरो प्रभाव छोडेको छ। धेरै स्थानीयले उहाँलाई ‘बोल्नेभन्दा गर्ने’ र ‘वाचा होइन, व्यवहार देखाउने’ व्यक्तित्वका रूपमा मूल्यांकन गर्ने गरेका छन्।
धर्मानन्द जोशीको जीवन यात्रा केवल स्थानीय समाजसेवामा सीमित छैन। उहाँले करिब १५ वर्ष संयुक्त राष्ट्रसंघ (United Nations) अन्तर्गत स्वयंसेवकका रूपमा काम गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्नुभएको छ। मानव अधिकार, सामाजिक न्याय र विकासका क्षेत्रमा प्राप्त उक्त अनुभवलाई आफ्नै जन्मभूमि दार्चुलाको सेवामा लगाउने उहाँको चाहना रहेको छ। यसका साथै, उहाँले पाँच वर्ष अधिवक्ताका रूपमा काम गर्नुभएको अनुभव पनि छ, जसले कानुनी र संवैधानिक विषयमा उहाँको पकडलाई थप मजबुत बनाएको समर्थकहरूको भनाइ छ।
यही सेवा, अनुभव र जनविश्वासका आधारमा जोशीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुला जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई धेरैले सामान्य राजनीतिक प्रक्रियाभन्दा पनि दार्चुलाको भविष्यप्रतिको प्रतिबद्धताको संकेतका रूपमा लिएका छन्। शिक्षित, सक्षम र समावेशी समाज निर्माण गर्ने उहाँको सोचलाई स्थानीय मतदाताले आशाका रूपमा हेरेका छन्।
उम्मेदवारी दर्तापछि मालिकार्जुन खबरसँग कुरा गर्दै जोशीले एक पटक अवसर पाए दार्चुलाका दीर्घकालीन र जटिल समस्याहरूलाई संसदमा बुलन्द आवाजका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “सीमा विवादका विषयलाई संसदमा पुर्‍याएर राष्ट्रिय बहसको केन्द्रमा ल्याउनेछु,” उहाँले भन्नुभयो। साथै, बाटोघाटो, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानीजस्ता आधारभूत विकासका कामलाई तीव्र गतिमा अघि बढाउने योजना रहेको उहाँको भनाइ छ।
वि.सं. २०३२ सालमा शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ पपरथलामा जन्मिनुभएका जोशीलाई स्थानीयले कुशल, शिक्षित र ऊर्जावान युवा उम्मेदवारका रूपमा हेरेका छन्। अन्तर्राष्ट्रिय अनुभव, कानुनी ज्ञान, सामाजिक संवेदनशीलता र स्थानीय समस्याप्रतिको गहिरो बुझाइ उहाँको मुख्य विशेषता रहेको समर्थकहरूको दाबी छ।
यही सन्दर्भमा अहिलेको निर्वाचनलाई धेरैले ‘उम्मेदवारभन्दा नियतको परीक्षा’ का रूपमा लिएका छन्। आज दार्चुलालाई सामान्य मन, विशाल हृदय र सेवाभाव भएको नेतृत्वको खाँचो रहेको स्थानीयको भनाइ छ। यही आवश्यकताबीच धर्मानन्द जोशीलाई आशाको प्रतीकका रूपमा हेरिएको एक स्थानीय युवाले बताए।
समाजसेवाबाट राजनीतिसम्मको उहाँको यात्रा दार्चुलाको भविष्यसँग जोडिएको भन्दै स्थानीय बासिन्दाले यस निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई विजयी गराइदिन जोशीले आम दार्चुलाबासीसँग आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.