दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुला जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो औपचारिक चुनावी प्रचार–प्रसार कार्यक्रम सुरु गरेको छ। सोमबारदेखि मालिकार्जुन मन्दिरबाट प्रचार अभियानको थालनी गरिएको हो। रास्वपा दार्चुला सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेश सिंह सामन्तले मालिकार्जुनबाट प्रचार सुरु गरिएको जानकारी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाको घरदैलो तथा भेटघाट कार्यक्रम मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाराज मालिकार्जुन तीर्थस्थलबाट पूजा–पाठ गरी औपचारिक रूपमा सुरु गरिएको हो।
कार्यक्रममा रास्वपाका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जताततै भावैभाव छ, जनतामा नयाँ राजनीतिक शक्तिप्रति आशा र विश्वास देखिएको रास्वपा वडा सभापति शेर सिंह धामीले बताए।
उम्मेदवार राजेश सिंह सामन्तका अनुसार यसपटक दार्चुला जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनमत बढ्दो क्रममा रहेको छ। जनताले परम्परागत राजनीतिबाट दिक्क भएर नयाँ सोच, नयाँ शैली र इमानदार नेतृत्वको खोजी गरिरहेको उहाँको भनाइ छ। “यसपटक जिल्लामा रास्वपाको क्रेज राम्रो छ, त्यसैले जित्नेमा हामी विश्वस्त छौं,” सामन्तले दाबी गर्नुभयो।
सामन्त पूर्व शिक्षकसमेत हुनुहुन्छ। लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका उहाँले शिक्षक पेशाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो। शिक्षण पेशाबाट प्राप्त अनुभव, अनुशासन र सामाजिक जिम्मेवारीलाई राजनीतिमा प्रयोग गर्ने उद्देश्यले आफू मैदानमा उत्रिएको उहाँले बताउनुभयो। शिक्षा क्षेत्रमै रहँदा देखेका समस्या, असमानता र व्यवस्थागत कमजोरी समाधान गर्न राजनीतिको बाटो रोजेको उहाँको भनाइ छ।
घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार सामन्तले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन्। सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा अभियान, युवाको रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र दार्चुला जिल्लाको समग्र विकास रास्वपाको प्रमुख प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो।