बालेन शाहको सुदूरपश्चिम यात्रा: बैतडी हुँदै दार्चुला पुग्ने

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह भोलि माघ १४ गते बुधबार बैतडीको पाटन आउने भएका छन्। पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यसहित बालेन शाह बैतडी आउन लागेको रास्वपा बैतडीले जनाएको छ।
रास्वपाका अनुसार बालेन शाहको बैतडी भ्रमणका क्रममा जिल्लाको मुख्य केन्द्र पाटनमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ। भेटघाट कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तका अनुसार बालेन शाह कैलालीबाट डोटी, डडेल्धुरा हुँदै बैतडीको पाटन र दार्चुला सम्म पुग्ने तालिका रहेको बताउनुभयो। पाटनमा भेटघाट कार्यक्रम सम्पन्न गरेपछि उहाँ दार्चुलाको गोकुलेश्वरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सभापति सामन्तले जानकारी दिनुभयो।
सभापति सामन्तका अनुसार बालेन शाहको यो भ्रमणले सुदूरपश्चिमका जिल्लाहरूमा पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै स्थानीय तहका समस्या, जनचासो र राजनीतिक अवस्था बुझ्नसमेत यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
रास्वपाले पछिल्लो समय देशका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदै आएको छ। बालेन शाहको बैतडी तथा दार्चुला भ्रमणलाई महत्त्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.