दार्चुला । दार्चुलामा नेपाली कांग्रेसबाट धर्मानन्द जोशी उम्मेदवार छन् । अहिले नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा जुटेको छ । यसैसन्दर्भमा दार्चुलामा पनि नेपाली काँग्रेसले पार्टीका नेता कार्यकर्तालाई पार्टीको नेतृत्वसंगै कार्यशैली पनि बदलिएको सन्देश दिन थालेको छ ।
जिल्लाको विकास र समृद्धिकालागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको कुरालाई मनन गरी पार्टीका उम्मेद्वारलाई जिताउने गरी रणनीति बनाई अगाडि बढेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिह बोहराले जानकारी दिए ।
त्यसै अन्तरगत चुनावी प्रचारप्रसारको कार्यक्रममा आज अपिहिमाल गाउँपालिका पुगेको उनले बताए । अपिहिमाल गाउँपालिकाको वडा नं ४ सल्लेधारमा चुनावी आमसभा समेत सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गदैँ उम्मेदवार धर्मानन्द जोशीले काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने भएकाले काँग्रेस नेतृत्वको सरकार बनाउनका लागि पनि आफूलाई जिताउन आग्रह गरे ।
उनले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि पनि आफूलाई जिताउन आम पार्टीको नेता, कार्यकर्ता सहित अपिहिमालका मतदातालाई अपिल गरेका छन् । २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै उनले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे ।
जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । मतदाताहरूले पनि कांग्रेस बदलिएको अनुभूति भएको बताउन थालेका छन् । ०७९ को चुनावमा दार्चुलामा गठबन्धनका कारण यस क्षेत्रमा कांग्रेसकै नेता दिलेन्द्र प्रसाद बडूले चुनाव जितेका थिए । तर, यसपटक पार्टीले उम्मेदवार जोशीलाई उठाउँदा कांग्रेस कार्यकर्ताहरू थप उत्साही देखिएका छन् ।
