मालिकार्जुनमा कांग्रेसको आमसभा सम्पन्न, ७३ जनाले गरे पार्टी प्रवेश (तस्वीर सहित)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको चुनावी आमसभा भव्य रुपमा सम्पन्न भएको छ। आमसभामा निवर्तमान सांसद तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि रहनुभएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामी विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहरा, जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की, महाधिवेशन प्रतिनिधि सम्बु प्रसाद जोशी, जगदीश बहादुर पाल, नरेन्द्र सिंह धामी, अमर सिंह धामी, प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशी तथा समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिलेन्द्र प्रसाद बडुले फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो। उहाँले आफ्नो सांसद कार्यकालमा खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका पूर्वाधार विकासमा महत्वपूर्ण काम गरिएको उल्लेख गर्दै विकासको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आवश्यक रहेको बताउनुभयो।

“जनताको आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यका साथ काम गरेका छौं, अधुरा योजना पूरा गर्न र नयाँ कार्यक्रम ल्याउन कांग्रेसलाई बलियो बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
विशिष्ट अतिथि बिक्रम सिंह धामीले लोकतन्त्र सुदृढीकरण र स्थायी विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको धारणा राख्नुभयो।

उहाँले युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण र सडक सञ्जाल विस्तारमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। जिल्ला सभापति ललित सिंह बोहराले संगठन सुदृढीकरणसँगै जनताको विश्वास जित्दै अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।

प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशीले आफू जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै रुख चिन्हमा मतदान गरी विजयी गराउन अपिल गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समानुपातिक उम्मेदवार करबिर बहादुर कार्कीले समावेशी विकास र सामाजिक न्याय कांग्रेसको मुख्य एजेन्डा भएको बताउनुभयो। आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरी ७३ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको मालिकार्जुन गाउँपालिका सभापति किसन सिंह सामन्तले जानकारी दिनुभयो।

नवप्रवेशीलाई प्रमुख अतिथि बडु लगायत नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले उत्साहजनक उपस्थिति जनाउँदै चुनावी माहोल थप तातेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.