कञ्चनपुर, बैशाख ३०
कञ्चनपुरमा आर्थिक गणनाको काम हालसम्म ५६ प्रतिशत पुगेको छ । २ बैशाखदेखि शुरु गरिएको आर्थिक गणना निरन्तर भईरहेको कार्यालयले जनाएको छ । आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडीले जिल्लाभरी सबै पालिकाहरुमा एकसाथ शुरु भएको आर्थिक गणना कार्य निरन्तर भईरहेको बताए । उनका अनुसार कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० कर्मचारीको जनशक्ति परिचालन भएका छन ।
सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २०, बेलडाँडी, लालझाडीमा दुई दुई गणक गणक परिचालन भएका छन । बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिकामा पाँच, दोधाराचाँदनी कृष्णपुर नगरपालिकामा चार र पुर्नवास नगरपालिकामा ६ गणक खटिएका हुन ।
८ जना गणक बराबर १ जना सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था गरिएको अधिकारी ऐडीले बताउँदै गणना गरिएको प्रतिष्ठानमा स्टीगर समेत टाँसिएको छ । तोकिएकै समयमा जिल्लाको आर्थिक गणना गर्ने ऐरीले दावि गरेका छन ।
आर्थिक गणनाका क्रममा गणकहरूले पसल, उद्योग, संस्था, सेवा व्यवसाय तथा अन्य आर्थिक एकाइमा पुगेर विवरण सङ्कलन गर्न लागिएको र मुख्य रूपमा व्यवसायमा गरिएको लगानी, रोजगारीको अवस्था, वार्षिक आम्दानी–खर्च, उत्पादन तथा सेवा प्रवाह, ऋण तथा बीमाको अवस्था लगायतका विवरण सङ्कलन गरिन लागिएको छ ।
आर्थिक गणना अधिकारी ऐडीले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेका छन । आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला सहायक आर्थिक गणना अधिकारी किसन खडकाले सबै पालिकामा रहेका व्यापार–व्यवसायको सङख्या र घनत्वका आधारमा गणक र सुपरीवेक्षक निरन्तर परिचालन भएको बताए । जिल्लाका गणक तथा सुपरीवेक्षकले व्यवसायस्थलमै पुगेर तथ्याङ्क सङ्कलन गरिरहेको उनले बताए । उनका अनुसार यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिएको र पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण संकलन गरिएको र दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिन लागिएको छ । मुख्य प्रश्नावलीका विवरण इ–सेन्सस प्रणालीमार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावलीमार्फत गणकले पनि विवरण संकलन गर्न सकिने व्यवस्था रहेको छ । उनका अनुसार आर्थिक गणनाकै लागि जिल्लाका वडा अध्यक्ष, पालिका प्रमुख र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय आर्थिक गणना समन्वय समिति गठन गरिएको थियो । जिल्लाको आर्थिक अवस्था, उद्योग–व्यवसायको वास्तविक सख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणनाको उदेश्य रहेको बताए ।
देशको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई सुदृढ बनाउन आवश्यक आधारभूत तथ्याङ्क उत्पादन हुनेछ। आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिनेछन्। आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिने जनाईएको छ ।
नेपालमा पहिलो आर्थिक गणना ०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आव ०८२÷०८३ मा सञ्चालन हुन लागेको हो। गणनाबाट प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिनेछ। साथै देशमा रहेका प्रतिष्ठानको सङ्ख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार तथा वितरणसम्बन्धी तथ्याङ्क उत्पादन हुनेछ।
अर्थमन्त्री स्वर्णीम बाग्लेले आर्थिक गणनाले देशको अर्थतन्त्रको स्पष्ट खाका आउने भएकाले आर्थिक गणना महत्वपूर्ण मार्ग दर्शक रहेको बताउँदै कर्मचारी र व्यवसायी उद्योगीलाई स्पष्ट विवरण संकलन दिन आग्रह गरेका थिए ।