डिल्लीराज पन्त
कञ्चनपुर १२ जेष्ठ ।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महताले राज्यका सुरक्षा निकायमा जनशक्ति अभाव देखिएको अवस्थामा कार्यविधि विपरीत व्यक्तिकेन्द्रित सुरक्षा सुविधा उपलब्ध गराउने अभ्यासको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले देशको सुरक्षा अवस्था विगतको तुलनामा सुधार भएको, शान्ति प्रक्रिया टुंगिएको तथा लोकतान्त्रिक संस्थाहरू सुदृढ हुँदै गएको उल्लेख गर्दै सुरक्षा व्यवस्था वास्तविक जोखिम मूल्याङ्कनका आधारमा मात्र निर्धारण हुनुपर्ने धारणा राख्नुभयो। सुरक्षा आवश्यकताको वैज्ञानिक मूल्याङ्कन नगरी प्रभाव, पहुँच वा राजनीतिक आधारमा सुरक्षा सुविधा वितरण गरिनु उपयुक्त नहुने उहाँको भनाइ थियो।
सांसद महताले ग्रामीण क्षेत्रका प्रहरी चौकी, सीमा सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाजस्ता क्षेत्रमा पर्याप्त जनशक्ति अभाव रहेको उल्लेख गर्दै सयौं सुरक्षाकर्मीहरू व्यक्तिकेन्द्रित सुरक्षामा सीमित हुँदा आम नागरिकले प्रत्यक्ष रूपमा सुरक्षा सेवाको अभाव महसुस गरिरहेको बताउनुभयो।
उहाँले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ को मर्मअनुसार कार्यान्वयन नभएको दाबी गर्दै कार्यविधि विपरीत उपलब्ध गराइएका सम्पूर्ण सुरक्षा सुविधाको निष्पक्ष, पारदर्शी र वस्तुगत समीक्षा तथा छानबिन गर्न सरकारसँग माग गर्नुभयो।
सांसद महताले वास्तविक जोखिमका आधारमा मात्र सुरक्षा व्यवस्था कायम गर्न, आवश्यकताभन्दा बढी खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाई प्रहरी चौकी, सीमा सुरक्षा तथा जनताको प्रत्यक्ष सेवामा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो। यसबाट राज्यको स्रोत–साधनको सदुपयोग हुनुका साथै आम नागरिकले अनुभूति गर्ने सुरक्षा थप मजबुत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।