आरक्षपीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठनको पहल गर्ने सांसद बोहराको प्रतिबद्धता

कञ्चनपुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष विस्तारका क्रममा विस्थापित र प्रभावित बनेका नागरिकका समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठनका लागि पहल गर्ने प्रतिबद्धता सांसद दिपक राज बोहराले जनाएका छन्।

आरक्षपीडित संघर्ष समितिका जिल्ला अध्यक्ष जयबहादुर रोकाया, केन्द्रीय संयोजक प्रेमदत्त भट्ट, सचिव कृष्ण भट्टलगायत पदाधिकारीसँगको भेटघाटमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोहराले वर्षौंदेखि थाँती रहेका आरक्षपीडितका समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएका हुन्।

भेटमा आरक्ष विस्तारका क्रममा विस्थापित परिवारको पुनस्र्थापना, मुआब्जा, जग्गा तथा पीडितको हक–अधिकार सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो। पीडितहरूले लामो समयदेखि आफ्ना माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै आए पनि समस्या अझै समाधान हुन नसकेको गुनासो गरेका थिए।

समितिका अनुसार सांसद बोहराले आरक्षपीडितलाई न्यायोचित अधिकार दिलाउन सरकारसँग आवश्यक पहल गर्ने र यही शुक्रबारसम्म अधिकारसम्पन्न आयोग गठनका लागि पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आरक्षपीडितहरूले पटक–पटक आश्वासन पाए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको भन्दै अधिकारसम्पन्न संयन्त्रमार्फत समस्या टुंग्याउनुपर्ने माग गर्दै आएका छन्।

समितिका पदाधिकारीहरूले आयोग गठनसँगै आरक्षपीडितको वास्तविक अवस्था पहिचान, पुनस्र्थापना, उचित क्षतिपूर्ति तथा जग्गा र हक–अधिकार सुनिश्चित हुने गरी ठोस निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद बोहराको प्रतिबद्धताले लामो समयदेखि न्याय र अधिकारको पर्खाइमा रहेका आरक्षपीडितको समस्या समाधान हुने आशा बढेको समितिले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.