कञ्चनपुर ।
कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुलले जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भोली १० भदौँ (बुधबार) देखि सुदूरपश्चिम विश्वविद्यालयको प्राङगणमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल नागेन्द्र प्रशाद कलौनीले खेलाडीविच प्रतिस्पर्धाको भावनाको विकास गराउँदै फुटबलको बृद्धि विकासका लागि आयोजना गर्न लागेको बताए ।
विद्यालयका प्रशासनिक अधिकृत हेमन्त बहादुर सिंहले प्रतियोगिताको तयारी पुरा भएको बताए । उनका अनुसार प्रतियोगितामा १५ विद्यालयका १६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा आयोजकका दुई सहित फ्लोरिडा इन्टरनेश्नल स्कुल, माधवी स्कुल, गुरुकुल, राष्ट्रिय माध्यमिक विद्यालय, बैजनाथ माध्यमिक विद्यालय, बैजनाथ जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण), आदर्श, रेडियन्ट, एपेक्स गोदावरी, मोर्निङ ग्लोरी, महाकाली बहुउद्देश्यीय, लिटिल बुद्धविच प्रतिस्पर्धा हुनेछ । टिम सहभागिताका लागि हरेक टिमलाई ६ हजार शुल्क तोकिएको छ । प्रतियोगिताको विजेता टिमलाई ५० हजार नगद, उपविजेता टिमले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रत्येक दिन चार खेल सञ्चालन हुने र खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिनेछन । ईन्टरनेशनल पब्लिक स्कुल संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयले विगत १० बर्षदेखि आयोजना गर्दै आएको यस बर्ष ०८३मा पनि निरन्तता दिदै आएको बताए । प्रतियोगिताले फुटबलका खेलाडी उत्पादनदेखि बृद्धि विकासको अपेक्षा गरिएको उनको भनाई छ ।
