बैतडी जीप दुर्घटना “अप्डेट”, १० जना घाइते

दार्चुला बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ तारलमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बैतडी सदरमुकामबाट बसालीका लागि छुटेको से १ ज २२६ नम्बरको जीप सतबाँझ–सिल्लेगडा सडकखण्डको तारलमा बिहीबार दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका ४ का सागर विष्ट, दोगडाकेदार ५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया श्रीमती लक्ष्मी ८ महिने छोरा सौगात कार्की घाइते भएका छन् । यस्तै, दोगडाकेदार ५ का १९ वर्षीया दुर्गा धामी र दोगडाकेदार गाउँपालिका ७ का नरेश कार्की पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ । अन्य घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । चालकसहित ११ जना सवार जीप दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमसहितको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेको छ ।

पानीले गर्दा सडक सतह चिप्लो र दुर्घटना भएको स्थानको सडक भासिएको जीप दुर्घटनामा परेको खुल्न आएको छ ।

Leave A Reply

Your email address will not be published.