रास्वपा लक्षित दिलेन्द्र बडूको टिप्पणी– ‘हावाहुरी सधैँ चल्दैन’

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ दलहरूलाई ‘क्षणिक हावाहुरी’को संज्ञा दिएका छन्।

शनिबार नेपाली कांग्रेस दार्चुलाको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बडूले नयाँ दलहरूको प्रभाव लामो समय नरहने दाबी गरेका हुन्।

नयाँ दलतर्फ संकेत गर्दै बडूले कांग्रेससँग लामो राजनीतिक इतिहास, विचार र पृष्ठभूमि रहेको दाबी गरे। उनले रास्वपाको उदयलाई ‘हुरी र बतास’सँग तुलना गर्दै यसको प्रभाव क्षणिक भएको टिप्पणी गरे।

‘यहाँ एउटा हुरी आएको छ, रास्वपा भन्ने हुरी आएको छ। यो हुरी र बतास हो, एक समयले सक्यो। एक दिशाबाट आयो अनि सकियो,’ उनले भने, ‘तर त्यसको कुनै धरातल छैन, कुनै पृष्ठभूमि छैन।’

कांग्रेसको राजनीतिक इतिहास र बीपी कोइरालाको विचार तथा योगदानलाई उल्लेख गर्दै बडूले कांग्रेसको पृष्ठभूमि लामो रहेको बताए।

‘हामी कांग्रेसमा छौँ, हाम्रो विगतको इतिहास छ। तिनको कुन इतिहास छ, एकपटक सोच्नुस् त ? हामीसँग बीपी कोइरालाको दर्शन छ, बीपी कोइरालाको सपना छ, बीपी कोइरालाको त्याग–तपस्या छ,’ उनले भने।

बडूले कांग्रेससँग रहेको यही राजनीतिक पृष्ठभूमिका कारण नयाँ दलहरू कांग्रेससँग अझै डराइरहेको दाबीसमेत गरे। उनले विगत, इतिहास र राजनीतिक धरातल नभएका दलहरूको प्रभाव लामो समय टिक्न नसक्ने तर्क गरे।

कांग्रेसभित्रैको आन्तरिक प्रतिस्पर्धा र असन्तुष्टिका कारण विगतमा पार्टीले निर्वाचनमा क्षति व्यहोरेको उल्लेख गर्दै उनले अब कांग्रेसभित्रको ‘बेइमानी’ अन्त्य गर्नुपर्ने बताए।

‘अब हेर्नुस् हाम्रो कोसित हो प्रतिस्पर्धा ? अब कांग्रेसको कांग्रेसभित्र रहनु हुँदैन। विगतमा हाम्रो त्यो अनुभव हामीसँग छ। हामीले पालिकामा हार्‍यौँ चुनाव, हाम्रै भित्रको बेइमानीले। अब त्यो रहनु हुँदैन,’ बडूले भने, ‘यो प्रतिज्ञा यो अधिवेशनबाट गर्नुपर्छ। यो प्रतिज्ञा गर्‍यौँ भने हामीलाई हराउन सक्ने ताकत कसैमा छैन।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.