कञ्चनपुर ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. २ बाट युवा कोटातर्फ किरण भट्टले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
युवा पुस्ताको सक्रिय सहभागिता र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी दिएको भट्टले बताएका छन्। कांग्रेसले युवा पुस्तालाई संगठनको नेतृत्व प्रक्रियामा सहभागी गराउने उद्देश्यले अघि सारेको युवा कोटाबाट आफू प्रतिनिधित्वका लागि अघि बढेको उनको भनाइ छ।
भट्टका अनुसार उनले यसअघि इन्जिनियरिङ विद्यार्थी समाजको महासचिव तथा Far Western YouthMappers Nepal को अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। त्यस्तै, Harvard University Aspire Leaders Program लगायत विभिन्न अनुसन्धान तथा नेतृत्वसम्बन्धी कार्यक्रमबाट प्राप्त अनुभवलाई पार्टी संगठन र समाजको हितमा उपयोग गर्ने उनको प्रतिबद्धता छ।
युवा पुस्ताको आवाजलाई पार्टीको नीति, नेतृत्व र संगठनात्मक तहसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्य रहेको बताउँदै भट्टले संगठनमा नयाँ सोच, सक्रियता र जिम्मेवारीसहित काम गर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताबाट विभिन्न पदमा उम्मेदवारी प्रस्तुत हुन थालेसँगै पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्वमा पुस्तान्तरणको विषयले पनि स्थान पाएको छ। युवा कोटाको व्यवस्थाले युवाहरूलाई पार्टीको केन्द्रीय नेतृत्व प्रक्रियामा सहभागी हुने अवसर प्रदान गरेको छ।
भट्टले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्वसँग जोड्दै महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताको विश्वास, साथ र शुभेच्छाको अपेक्षा गरेका छन्।
