दार्चुलामा देउवा पक्षको संगठनात्मक गतिविधि तीव्र, पालिका संयोजक तोक्दै

दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै दार्चुलामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ।

महाधिवेशनको तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा जिल्लास्तरीय गतिविधि सञ्चालनका लागि नेता सुरेन्द्रप्रसाद अवस्थीलाई जिल्ला संयोजनको जिम्मेवारी दिइएको छ।

महाधिवेशनको तयारीअन्तर्गत देउवा पक्षले जिल्लाका विभिन्न पालिकामा संयोजक तोक्ने प्रक्रिया अघि बढाएको छ। जसअनुसार मार्मा गाउँपालिकाको संयोजकमा दीपेन्द्रबहादुर सिंह, अपिहिमाल गाउँपालिकाको संयोजकमा दिलीपसिंह महता, मालिकार्जुन गाउँपालिकाको संयोजकमा भूपेन्द्रसिंह धामी र लेकम गाउँपालिकाको संयोजकमा गणेशसिंह धामीलाई अगाडि सारिएको छ।

जिल्लामा देउवा पक्षले सम्पर्क कार्यालय स्थापनासँगै महाधिवेशनको तयारी र संगठनात्मक चहलपहल बढाएको कांग्रेस नेताहरूले बताएका छन्।

सम्पर्क कार्यालयमार्फत पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय कायम गर्ने, महाधिवेशनसम्बन्धी गतिविधि सञ्चालन गर्ने तथा मातहतका वडा र पालिका तहका अधिवेशनलाई सहज रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने महाधिवेशन समितिका केन्द्रीय प्रतिनिधि सन्तोष ऐतवालले जानकारी दिए।

देउवा पक्षले प्रस्ताव गरेको कार्यतालिकाअनुसार १५ असोजमा वडा अधिवेशन, २० असोजमा पालिका अधिवेशन, २३ असोजमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, १५ कात्तिकमा जिल्ला अधिवेशन र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी २१ मंसिरदेखि २३ मंसिरसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। दार्चुलामा भने देउवा पक्षले आफ्नै प्रस्तावित कार्यतालिकालाई आधार बनाएर जिल्लाभर महाधिवेशन तयारीका गतिविधिलाई अघि बढाउने जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.