डडेल्धुरा, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनका लागि गृह जिल्ला डडेल्धुराबाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।
गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट पूर्वसभापति देउवासहित उहाँका स्वकीय सचिव भानु देउवासमेत सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएका हुन ।
काठमाडौँमै रहनुभएका पूर्वसभापति देउवाले स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएर मनोनयन दर्ता गराउनुभएको वडा सभापति पदम महताले जानकारी दिए । स्वकीय सचिव भानु देउवाले पनि वारेसनामामार्फत नै उम्मेदवारी दिएका थिए ।
पार्टी विधानअनुसार महाधिवेशनका प्रक्रियामा सहभागी हुन वडास्तरबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था छ । सोही बमोजिम देउवा यसअघिका महाधिवेशनहरूमा पनि आफ्नै गृह वडाबाट प्रतिनिधि चयन हुँदै आएका थिए ।
