दार्चुला । सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित दार्चुलाको अपिहिमाल गाउँपालिकाले तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ।
कात्तिक १७ गते मंगलबार देखि १९ गतेसम्म गाउँपालिका-१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुने उत्सवले अपिको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार अपि हिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा परेपनि पर्याप्त प्रचारप्रसार हुन नसकेकाले उत्सवमार्फत पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनामार्फत पनि विगत केही वर्षदेखि अपि हिमालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यो परियोजनाले सन् २०२५ देखि अपिमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने, स्थानीय समुदायको आयआर्जन बढाउने र ग्रामीण अर्थतन्त्रलाई पर्यटन तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
यूएनडीपीको दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले तीनदिने उत्सवलाई केवल पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सीमित नराखी स्थानीय कला, संस्कृति, खेलकुद र साहित्य पर्यटन तथा जलवाय परिर्वतनको बहसलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार अपि हिमाल सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल भएपनि पर्याप्त प्रचारप्रसार हुन सकेको छैन। ‘अपिलाई देशविदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन, ‘स्थानीय रोजगारी र आयआर्जन बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनामार्फत विगत केही वर्षदेखि काम गर्दै आएका छौँ। यसैको निरन्तरताका रूपमा पर्यटन उत्सव आयोजना गरिएको हो। तीनदिने उत्सवमा स्थानीय कला संस्कृति, क्रिकेट, भलिबल, साहित्यिक महोत्सव, योग, ध्यान र जलवायु संवादका कार्यक्रम राखेका छौँ’, उनले भने।
स्थानीय संस्कृति र खेलकुदलाई पर्यटनसँग जोड्दै कलाकार तथा समुदायका लागि आयआर्जनका अवसर सिर्जना गर्नु यसको उद्देश्य हो। ‘अपि हिमालको पर्यटन प्रवर्द्धनलाई एकपटकको उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका साथ अघि बढाउने हाम्रो तयारी छ। यसपटकको उत्सवमा सहभागी पर्यटकबाट अपिको पर्यटन विकासका सम्भावना, समस्या र सुधारका विषयमा सुझाव तथा तथ्यांक संकलन गरिनेछ’, उनले भने, ‘पर्यटकबाट प्राप्त सुझावका आधारमा अपिको छुट्टै बजारीकरण रणनीति तयार गरी त्यसअनुसार प्राथमिकताका कार्यक्रम सञ्चालन गर्ने योजना छ।’
उनका अनुसार अहिले ५ देखि ६ हजार स्वदेशी र करिब चारदेखि पाँचसय विदेशी पर्यटक अपि पुग्ने गरेका छन्। आगामी केही वर्षभित्र वार्षिक ४० देखि ५० हजार पर्यटक पुर्याउने लक्ष्य छ। ‘त्यसका लागि पूर्वाधार विकास, स्थानीय क्षमता अभिवृद्धि र छुट्टै बजारीकरण रणनीति तयार गर्दै अपिको प्राकृतिक सौन्दर्यलाई देशविदेशमा चिनाउने हाम्रो प्राथमिकता छ’, उनले भने।
प्रबन्धक दवाडीका अनुसार पहिलो दिन उद्घाटनसँगै स्थानीय कला संस्कृति र नाच प्रस्तुत गरिनेछ। स्थानीय कलाकारको आत्मविश्वास बढाउने, परम्परागत संस्कृति संरक्षण गर्ने र त्यसलाई पर्यटन तथा आयआर्जनसँग जोड्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको उनले बताए।
दोस्रो दिन धनगढी-११ र अपि-११ बीच क्रिकेट महोत्सवसँगै भलिबललगायत स्थानीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ। यसले अपिलाई खेल पर्यटनको गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तेस्रो दिन साहित्यिक महोत्सव,योग, ध्यान र आरोग्य पर्यटन बारे छलफल गरिने छ। नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी र यससम्बन्धी रणनीति तथा कार्ययोजनालाई समेत ध्यानमा राखेर अपि पदमार्गलाई आरोग्यमैत्री पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सोच परियोजनाले अघि सारेको प्रबन्धक दवाडीले बताए।
जलवायु परिवर्तनका कारण पर्यटन तथा पर्यटकीय क्षेत्रमा परिरहेको प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकारवालालाई सचेत गराउने उद्देश्यले उत्सवमा जलवायु संवाद लगायतका कार्यक्रम पनि समावेश गरिएको छ ।
परियोजना अन्र्तगत पर्यटकलाई आवश्यक पर्ने सेवा सुविधाको स्तरोन्नति गर्न स्थानीय होटल, होमस्टे र लज सञ्चालकको क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्थानमा नयाँ सेवा केन्द्र स्थापना गर्ने तथा पदमार्गमा सूचना बोर्ड, साइनेज, स्नो पोल मार्कर, पर्यटक विश्रामस्थल र सूचना केन्द्र निर्माण गर्ने काम भइरहेको छ।
गाउँपालिकाका अध्यक्षका अनुसार, अपि हिमालमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढेसँगै स्थानीय होटल तथा होमस्टेको सङ्ख्या र सेवा क्षमता दुवैमा वृद्धि भएको छ। होटल तथा होमस्टेमा काम गर्ने कर्मचारीको सङ्ख्या बढेको छ भने स्थानीय गाइड, ट्रेकिङ गाइड र पोर्टरको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ।
स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्न सूचना केन्द्रसँगै विभिन्न स्थानमा कोसेली घर सञ्चालन तथा प्रवर्द्धन गरिएको छ। राष्ट्रिय नाचघरसँगको समन्वयमा सांस्कृतिक प्याकेजसमेत विकास गरिएको छ।
अपिलाई सांस्कृतिक केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। केही वर्षअघिसम्म अपि हिमाल पुग्ने स्वदेशी पर्यटकको सङ्ख्या निकै न्युन थियो भने विदेशी पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका थिए।
अहिले बार्षिक पाँच सय विदेशी सहित करिब छ हजार पर्यटक अपि पुगेको गाउँपालिकाले जनाएको छ। पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, होमस्टे, गाइड तथा अन्य सेवा प्रदायकको आम्दानीमा वृद्धि भएको र पर्यटनसँग जोडिएका रोजगारीका अवसरसमेत विस्तार हुँदै गएको छ।
