राप्रपाको नेतृत्वमा उदाएका राजेन्द्र लिङ्देन को हुन् ?

डेढ दशकदेखि पार्टीमा ‘एकछत्र राज’ गरिरहेका कमल थापालाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्व अध्यक्षमा राजेन्द्र लिङ्देन उदाएका छन्।

एकता महाधिवेशनअन्तर्गत शनिबार राति अबेर सम्पन्न निर्वाचनको नतिजा अनुसार २ सय मतले कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देन राप्रपाको नयाँ अध्यक्ष बन्न सफल भएका हुन्।
को हुन् लिङ्देन ?
वि.सं. २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति थालेका हुन्।

विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। पिता मानप्रसाद र माता मनकुमारीका सन्तान लिङ्देन राप्रपाको स्थापना कालदेखि नै सदस्य बनेका हुन्।

२०४८ सालमा गठित राप्रपाको विद्यार्थी संगठनको उनी संस्थापक अध्यक्ष हुन्। जनतामाझ रहन रुचाउने विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बने। राजनीतिमा अनेक दुःख कष्ट भोगेका लिङ्देन वि.सं. २०६० र २०६१ मा जिविस झापा सभापति पनि बने। त्यस क्रममा उनले दक्षिणी झापाको विकासमा अतुलनीय योगदान पुर्याएको स्थानीय बताउँछन्। उनले गरेका विकास निर्माणका कामबारे दक्षिणी झापाका बासिन्दा अझै चर्चा गर्छन्।

लिङ्देनले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचन पनि लडेका छन्। तर उनी हारे। र, पनि जनताको सेवामा लागिरहे। २०७४ सालको प्रतिनिधि सभा चुनावमा भने झापा क्षेत्र नम्बर–३ मा उनी कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले हराउँदै सांसद बन्न सफल भए । लिङ्देनले सिटौलालाई १३ हजार ४ सय ४३ मतान्तरले हराएका थिए। ​

देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता लिङ्देन युवा पुस्तामा पनि लोकप्रिय छन्। पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले धेरैजसो समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए। दक्षिणी झापा हरेक वर्ष बाढीको विपत्तिमा पर्ने क्षेत्र हो। जब बाढीले जनजीवन तहसनहस हुन्छ, तब लिङ्देन राहत र उद्धारमा सक्रिय हुन्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, संगठन विभाग प्रमुख हुँदै उनै लिङ्देन अहिले कमल थापाको एकल वर्चस्व तोड्दै केन्द्रीय अध्यक्ष बन्न सफल भएका हुन्।

Leave A Reply

Your email address will not be published.