दार्चुलाको शैल्य मालिकार्जुन शिखर धाममा आज पुजन जात्रा हुँदै

दार्चुला-दार्चुलाको राष्ट्रिय धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा मङ्गलबार आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथीमा गरि बर्ष मा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ।

असार शुक्ल चतुर्द्शी का दिन लाग्ने पुजन जात्रा यसपालि पनि असार २८ मङ्गलबार विहानबाट शुरु भएको हो ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली ,कंचनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी,पिपली, अस्कोट चम्पावत, र पिथौराग बाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।

पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने जनविश्वास रही आएको छ ।उक्त पुजन जात्रामा श्रद्धालु भक्तजन हरुको निक्कै घुइचो लाग्ने गर्दछ।

हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले एक महिना अर्थात १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास रहेको छ ।

कसरी र कहाँ भयो मालिकार्जुनको उत्पत्ति 

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणमा उल्लेख भएको पाइन्छ । त्यहाँबाट कत्युर गडवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ । तत्कालीन डोटी राज्य भित्र पर्ने दुहूँ क्षेत्रमा बम रजवारले डोटी राज्यलाइ कर बुझाइ रजवारी पाएका थिए । यिनका समकालीन उकुका रजवार कल्याण पाल थिए । डोटी राज्यका शासक निरइदेव पालका भाइ अभय पालका सन्तान भएकाले उकुका रजवार अरू रजवारभन्दा आफू श्रेष्ठ भएका घमण्ड पनि गर्दथे । उकुका रजवार कल्यान पाल र दुहूँका रजवारको शासनकाल एकै समय थियो । दुहूँ र उकुको सिमाना जोडिएकै कारण यी दुवैमा आपसी बैमनुष्य, रिस, राग, द्वैषको अवस्था सिर्जना भइ मन मुटाव भएको थियो । यी दुबैका शासनकाल सम्बत् १९५० तिर रहेको पाइन्छ । यी दुबै रजवार बिचको मनमुटावका कारण सीमावर्ती क्षेत्रमा कर वसुली न्याय, इन्साफजस्ता कार्यमासमेत असर पुगेको थियो । कालु बमभन्दा कल्याण पालको राज्यमा सल्लाहकारको रूपमा परशुराम पन्त, दत्तु जोशी, कर्णदेव विष्ट र एक जना ओझा थरका व्यक्ति थिए । एक पटक तीनै सल्लाहकारहरूले दुहूँका रजवारसँग सन्धि सम्झौता गर्ने सल्लाह दिए ।

कल्याण पालको सल्लाह मानि मेलमिलाप गर्ने उद्देश्यले चारै जना सल्लाहकारलाइ कालु बम कहाँ पठाए । त्यहाँ गइ उक्त प्रस्ताव कालु बमसमक्ष राख्दा प्रस्ताव स्वीकार त गरे । तर आफू कल्याण पालल्ई भेट्न उकु नजाने त्यहाँ गएमा आफ्नो हत्या हुन सक्ने भएकाले बरू सहमतिस्वरूप सौगात पठाइ दिने कुरा कालु बमबाट दर्साउदा सल्लाहकारहरूबाट गाईको गोबरबाट निर्मित मालिकार्जुनको लिङ्ग बनाइ उक्त लिङ्गको कसम खॉदै कल्याण पालबाट कुनै पनि खतरा भएमा आफूहरूले उसको विरोध गर्ने र कालु बमको पक्षमा रहने विश्वास दिलाइ कालु बमलाइ उकु ल्याए । कालु बम उकु पुगेपछि कल्याण पालले सल्लाहकारको राय विपरीत कालु बमको हत्या गरेकाले कल्याण पालको विरोध गर्दै परशुराम पन्त, दत्तु जोशी र कर्णदेव विष्टले राज्य विद्रोह गरे भने ओझा थरका व्यक्तिले राज्य समर्थन गरे । सो विद्रोह गर्नेलाइ कल्यान पालबाट प्राण दण्डको सजाइ सुनाइयो भने ओझालाइ दरवारको विश्वास पात्र बनाइयो ।

 

यसरी दुहूँको दाम्दा कोटविणमा स्थापित लिङ्गमा मन्दिर बनाइ सोहि समयदेखि पूजा आजा गरिंदै आएको छ । यसको समय सम्बत् १९२० तिर मानिन्छ । मालिकार्जुनको मन्दिरमा कालु बमको राज पुरोहित बडु थरका व्यक्ति नै पूजा आजा गराउँछन् र मालिकार्जुन लिङ्गमा कसम आएको उल्लङ्घन गरी कालु बमको हत्यामा समर्थन गरेकाले ओझा थरका ब्राह्मणहरूलाइ उहिलेदेखि हालसम्म पनि मालिकार्जुनको श्रापका कारण मालिकार्जुन मन्दिरमा ओझाको पानी नचढ्ने र पूजाआजामा समेत ओझाहरूलाई निषेध गर्ने कथ्य परम्परा रही आएको छ ।

Leave A Reply

Your email address will not be published.