मेरो बाल्यकालको सम्झना , सख्खर चोरेर साथीभाईलाई बेच्थे

दिपक बाबु साउद – हामी साथीहरु कक्षा ९ र १० मा पढ्ने बेला श्री बडिपुर माध्यमिक विद्यालय लेकम १ सर्मोलीबाट शैक्षिक भ्रमण गएका बेलाको निक्कै याद आईरहन्छ, ती रमाईला यादहरु केबल तस्बिरमा मात्र सिमित छन । कक्षा १० सम्म संगै बसेको यादहरुले सताई रहन्छन् , झस्काई रहन्छन , साथिहरुसंग बसमा निक्कै रमाईलो भयो यात्रा लामो थिएन छोटो भए पनि एकदमै रमाईलो भयो । हामीले बसमा निकै रमाइलो गर्यौं। साथीहरूले एकपछि अर्को गर्दै गीत सुरू गरे। दोहोरी पनि चल्यो, बस मै नाच्यौं, फोटो र भिडिओ पनि खिच्यौं।

अहिले हामी साथिहरु एक ठाउँमा एकमुष्ट कहिले पनि भेट भएन साथिहरु सबै आ-आफ्नो गन्तव्य तिर हिडिसकेका छन । एक ठाउँमा कहिले पनि भेट हुन सकेको छैन, भेट त हुन्छ कहिलेकाहीँ एक साथि एक दिन भेटिन्छ,  एक साथि एक दिन भेटिन्छ तर कक्षा १० सम्म मात्र रहेछन साथिहरु एकमुष्ट भेट हुने कक्षा १० सम्म मात्र रहेछ त्यसपछी त सबै साथी आ-आफ्नो गन्तव्य तिर लाग्ने रहेछन।

अब यी सबै स्मृतिमा मात्र सीमित रहे । केवल सम्झनामा मात्र बगिरहने भयो । मनभित्र अनेक बेदनाको ओइरो बनेर बगेको खोलाजस्तै
त्यो बाल्यकालको समय र अहिललेको समयमा निकै ठूलो बदलाव आइसकेछ। गाउँले परिवेश, साथीभाइ, घरपरिवार साँच्चीकै एक सपना कल्पना जस्तो लागेर आउँछ। आजभोलि कहिलेकाहीँ आफूलाई ससाना बच्चाहरुसँग तुलना गर्छु। उनीहरुको दिनचर्या, आनिबानी, साथीभाइ सर्कल अनि समय बिताउने तरिका पनि नियाल्ने गर्छु। वास्तवमा कति छोटो समयमा समयले निकै कोल्टे फेरिसकेछ। केही वर्षमै हाम्रो जीउने, बाँच्ने र अनुभव गर्ने विधि र तरिका फेरिएछ।

अहिले जस्तो जिन्स पाइन्टको चलन गाउँघरमा चलिसकेको थिएन। नयाँ लुगाहरु किन्न दसैँ कुर्नु पर्थ्यो। विद्यालय जानुपर्दा धेरैजसो स्कुलहरु जति टाढा भए पनि हिँडेरै स्कुल जानु पर्थ्यो। बिहान सबेरै उठी घरको काम गरी ९ः३० बजे स्कुल हिँडिन्थ्यो। गाउँका सबै दौतरीहरुसँग गफ गर्दै खेल्दै रमाइलो गर्दै स्कुल पुग्ने गरिन्थ्यो।

कक्षा कोठामा पढ्न अल्छी लाग्दा पिसाब नआए पनि प्रत्येक पिरियडमा सर मे आई गो टु ट्वाइलेट भनेर बाहिर निस्कने गरिन्थ्यो। गणितमा दुना र अङ्ग्रजीमा के माने के भनेर मिनिङ पढ्न ज्यादै अप्ठ्यारो लाग्ने गर्थ्यो। नेपाली किताबका कथा कविता भने रटान पार्ने गरिन्थ्यो। घरमा वा स्कुलमा पढ्न बस्दा भाका हालेर चिच्चाएर पढ्ने चलन थियो। दिउँसोको खाली टाइममा कहिलेकाहीँ कबड्डी, चुङ्गी र भलिबल जस्ता खेलहरु खेल्ने गरिन्थ्यो। दिउँसो चार बजे स्कुल छुट्टी भएपछि को चाँडै घर पुग्ने भनेर प्रतिस्पर्धा नै हुने गर्थ्यो। दिनभरि स्कुलमा पढेर आउँदा भोक लाग्ने हुँदा घरमा आएपछि खाजा खानको लागि हात धुन र कपडा फेर्न समेत हतार हुने गर्थ्यो। अक्सर गरेर, मकै, भटमास, भुटेको भात तथा आटो खाजाको रुपमा रहने गर्थ्यो।

स्कुलमा शुक्रबार हुने अतिरिक्त क्रियाकलाप निकै रमाइलो हुन्थ्यो। शुक्रबार पहिलो घन्टीपछि कक्षाकोठा सफा गर्नुपर्ने र अतिरिक्त क्रियाकिलापमा भाग लिनुपर्ने हुँदा खासै पढाइ नहुने भएकोले शुक्रबार कहिले आउँछ भनेर पालो लगाएर प्रत्येक शुक्रबार कक्षाकोठा सरसफाई गर्नुपर्थ्यो। केटा केटी, मिलेर कक्षा कोठामा सरसफाई गरिन्थ्यो । प्रत्येक दिन रोल्न नम्बर अनुसार पालो लगाएर बढार्ने चलन थियो। कक्षाकोठा सरसफाई सँगै ब्ल्याक बोर्डमा रेडियो वा क्यासेट वा टर्च लाइट बालेर सडेका ब्याट्रीलाई फुटालेर कालो रङ लगाउने गरिन्थ्यो। सरसफाईपछि अतिरिक्त क्रियाकलाप सुरु हुने भएकोले खासै गृहकार्य पनि नहुने हुँदा ज्यादै खुसी लाग्ने गर्थ्यो। स्कुलबाट साँझ घर फर्केर खाजा खाएर घरकै काममा व्यस्त हुने गरिन्थ्यो। बाल्यकालमा घरमा कोही पाहुना आइदिउन् भन्ने चाहाना हुने गर्थ्यो। किनकि पाहुनाहरुले केही न केही खानेकुरा ल्याइदिने गर्थे र कसैकसैले पैसा पनि दिने गर्थे।

गाउँघरमा मेलापर्व निकै रमाइला हुन्थे। साउने सक्रान्ती, गौरा , धोडी,  खेडी,  लम्धोडी ,तीज, दसैँ, तिहार , मेला हाम्रो तिरका मुख्य चाडपर्व थिए। साउने सक्रान्तीदेखि मेला पर्व सुरु हुने गर्थ्यो। साउने सक्रान्तीको दिन साउने फूल, भलाए, बाबियो जस्ता घाँसहरु र फूलहरु जम्मा गरिन्थ्यो। साँझ पूजा गरेर सल्लाको दाउरा चिरेर तयार पारेको राँको बालेर लुतो फाल्ने चलन थियो। लुतो फाल्दा आफ्नो गाउँमा लुतो नफैलियोस् भन्ने हेतुले अर्काको गाउँलाई चिच्चाएर लुतो लैजान आग्रह गरिन्थ्यो।

उमेर बढ्दै गएपछि र परिवारको साथ छोड्न सक्ने भएपछि रातको समयमा साथीभाइहरुसँग घुम्न जाने गरिन्थ्यो। हाम्रोतिर मेला पर्व वा कुनै उत्सवमा हुने रमाइलो हामीहरु भने कसको घरमा काक्रा, केरा, अम्बा, सुन्तला उखु, वा अन्य फलफूल फलेको रहेछ भनेर घर घरमा गएर चियोचर्चो गर्ने गर्थ्यो। रातको समयमा अर्काको घरको फलफूल चोरेर खानुको मजा नै बेग्लै हुन्थ्यो। खान नसके टिपेर भए पनि नास गरिन्थ्यो।

अरुको मात्रै हैन आफ्नो घरबाट पेलेको चुक , मुसुरुको दाल ,गुड चोरेर साथीभाईहरुलाई बेचेर खेलौना किनिन्थ्यो । घरमा थाहा पाउछनकि भनेर सामानहरु आधाबाटोमा लुकाउथ्यौ । त्यती मात्रै हैन घरबाट पैसा चोरेर बडिपुरमा हरिचन्द्र नाटक लगाएका थियौ, त्यहा पैसा दिएपछि फलानाको छोराको नाम भनेर माईकबाट नाम आउछ भनेर घरबाट चोरेको पैसा त्यहा दिने गर्थे । अनि मेरो नाम पैसा दिएको बुवाले सुन्नु भएछ । भोलीपल्ट बुवाले छोरा तिमीसंग पैसा कताबाट आयो भनेर सोध्दा खेरी बुवाले पिट्छन भनेर डरले खाना खाने मन नहुने , एकदमै लज्जाबोद हुने , घरमा थाहा पाएपछि बुवाले कारबार्ही गर्नु भयो तपाई बुझ्नु होला कस्तो कारबाही भएको होला सिस्नु लगाउन थालियो । कराएर बुवा आजदेखि कहिले पनि यस्तो गर्दैन भनेर माफि मागे अझ बच्चा त भो बानि उहीँ तर त्यो दिन देखि धेरै कम गर्न थालियो ।

घटस्थापनासँगै दसैँ सुरु हुने र दसैँदेखि तिहारसम्म स्कुल बिदा हुने भएकोले घटस्थापनाको १,२ दिन अगावै रातोमाटो र कमेरोले स्कुल लिपेर चिटिक्क पार्ने चलन थियो। दसैँ सुरु भैसकेपछि सहर तथा विदेशबाट आफन्तहरु दसैँ मनाउन घर आउने क्रम सुरु हुन्थ्यो। कसको घरमा को आयो, कसलाई के ल्याइदियो भन्ने कुरा गाउँभरि सबैलाई थाहा हुन्थ्यो।

गाउँका स्थानीयहरु मन्दिरमा पूजापाठपछि दिउँसो खसी काट्न जम्मा हुन्थे। अघिपछि मासु खान नसक्नेहरु पनि दसैँमा थोरै भए पनि मासु खान्थे र सोही बमोजिम गाउँभरि सबैलाई भाग पुर्याउने गरिन्थ्यो। बाल्यकालको सम्झनाले जीवन जिउन निकै सहज पनि हुने गर्दो रहेछ। बाल्यकालको समयमा चाडपर्वमा हुने उमंग समय बित्दै जाँदा विस्तारै घट्दै जाँदो रहेछ। बालापन भन्ने गीतले भनेजस्तै अब ती दिनहरु एक पटक फेरि फर्केर आउने हो भने म जुनी जुनी त्यही समय, र त्यही बालापन माग्थेँ होला। गाउँघर अझै गाउँघरजस्तै छ कि सहरजस्तै परिवर्तन भैसक्यो ? तपाईं पनि एक पटक गाउँ फर्केर दुई दशक अगाडिको आफ्नो बाल्यकाल र चाडपर्वहरुको सम्झना गर्नुहोस त, त्यो बाल्यकाल र बाल्यकालका चाडपर्हरु कति रमाइला थिए ?

दिपक बाबु साउद लेकम गाउपालिका वडा नम्बर १ सर्मोली दार्चुला

 

Leave A Reply

Your email address will not be published.