दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला हुलाक कार्यालय दार्चुलाबीच सरकारी सेवा (राहदानी) हुलाकमार्फत सेवाग्राहीसम्म पुर्याउने विषयमा सम्झौता भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार “शासकीय सुधार सम्बन्धी एकीकृत कार्यसूची” कार्यान्वयन गर्दै यस्तो सहकार्य गरिएको हो।
सम्झौता अनुसार अब राहदानी वितरण प्रक्रियालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले तयार भएको राहदानी विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ।
सेवाग्राहीले आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी तोकिएको फाराम भरी आवश्यक शुल्क बुझाएपछि हुलाकमार्फत राहदानी घरमै प्राप्त गर्न सक्नेछन्।
हुलाक कर्मचारी (हुलाकी) ले राहदानी सुरक्षित रूपमा सेवाग्राहीको ठेगानामा पुर्याउने जिम्मेवारी लिनेछ। वितरणपश्चात प्राप्ति फाराममा हस्ताक्षर गराई सम्बन्धित विवरण पुन: प्रशासन कार्यालयमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यदि कुनै कारणवश राहदानी वितरण गर्न नसकिएमा त्यसको स्पष्ट कारणसहित प्रशासन कार्यालयलाई जानकारी गराइने र राहदानी सुरक्षित रूपमा फिर्ता गरिनेछ। साथै, राहदानीको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइने दुवै पक्षले जनाएका छन्। यो सेवा लागू भएसँगै दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीहरूलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ।