दार्चुला । बजारमा खाना पकाउने ग्याँसको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले ग्याँस डिलर र सप्लायर्समाथि अनुगमन सुरु गरेको छ ।
उपभोक्ताबाट बजारमा ग्याँस सहज रूपमा नपाइएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली छड्के अनुगमनमा गएको हो ।
अनुगमन टोलीले शनिबार जिल्लाका विभिन्न स्थानमा ग्यासको आपूर्ति, मौज्दात र वितरण अवस्थाबारे छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले शनिबार मात्रै जिल्ला सदरमुकाम क्षेत्रका ११ वटा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको बताए ।
अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको पाइएको प्रशासनले जनाएको छ । यद्यपि ग्यासको वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको अनुगमन टोलीको निष्कर्ष छ ।
टोलीले डिलर तथा सप्लायर्ससँग रहेको ग्यासको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म पुर्याइएको वितरणसम्बन्धी अभिलेखसमेत जाँच गरेको थियो ।
अनुगमनपछि सबै व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि सह्य नहुने प्रशासनले चेतावनी दिएको छ ।
उद्योगबाट नियमित रूपमा आएको ग्यास अनावश्यक रूपमा थुपार्ने, वितरणमा विभेद गर्ने वा आपूर्ति हुँदाहुँदै अभाव देखाउने काम भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने दार्चुला प्रशासनले चेतावनी दिएको छ ।
ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास देखिए तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन उनले उपभोक्तासँग आग्रह गरिएको छ ।
यी समाचार पनि पढ्नुस्–
आफ्नो आवश्यकता अनुसार मात्र ग्यास किन्न दार्चुला प्रशासनको आग्रह, अटेरी गरे कारबाही
दार्चुलाका ११ व्यवसायीका गोदाममा छड्के अनुगमन, ५०४ थान ग्यास सिलिन्डर मौज्दात
