गोल्डेन ब्रिज पब्लिक स्कुलकी प्रधानाध्यापक दिपशिखा बर्मालाई राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डमा सम्मान
कञ्चनपुर ।
शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी गोल्डेन ब्रिज पब्लिक स्कुलकी प्रधानाध्यापक दिपशिखा बर्मा सम्मानित भएकी छन्।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ को अवसरमा उनलाई सम्मान–पत्र प्रदान गरिएको हो।
सम्मान–पत्रमा शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नो ज्ञान, क्षमता, नेतृत्व र योगदानमार्फत शैक्षिक क्षेत्रको विकास तथा विस्तारमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गरिएको छ।
विशेषगरी गोल्डेन ब्रिज पब्लिक स्कुलको प्रधानाध्यापकका रूपमा शैक्षिक नेतृत्व प्रदान गर्दै आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाका ६ जनाभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरी सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।
त्यसैगरी, सबैको पहुँचमा गुणस्तरीय शिक्षा पुर्याउने उद्देश्यका साथ उनले निर्वाह गरेको अतुलनीय भूमिकाले शैक्षिक क्षेत्रमा सकारात्मक सोच, चेतना र प्रेरणाको प्रवाह गर्न योगदान पुर्याएको सम्मान–पत्रमा जनाइएको छ।
शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उनलाई ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ को विशेष अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ।
सम्मान ग्रहण गर्दै प्रधानाध्यापक बर्माले शिक्षा क्षेत्रमा गर्दै आएको कार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
