दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट एनपी जोशी (लाइट) ले युवा खुला समूहबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएका जोशीले विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै पार्टीको संगठनात्मक सुदृढीकरण, लोकतन्त्र, सुशासन र विधिको शासनका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी दर्तापछि जोशीले पार्टीभित्र देखिएको शिथिलता अन्त्य गर्दै युवाको सहभागिता र ऊर्जालाई संगठन निर्माणमा जोड्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले बदलिँदो राजनीतिक परिस्थितिमा युवाको सक्रिय सहभागितामार्फत पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखेका छन्।
जोशीले आफू महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीको सांगठनिक सुदृढीकरणसँगै जनहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। लोकतान्त्रिक मूल्य, सुशासन र विधिको शासनलाई संस्थागत गर्न पार्टीभित्र तथा बाहिर रचनात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
नेपाल विद्यार्थी संघको महाधिवेशन तथा संगठनात्मक विषयमा यसअघि पनि सार्वजनिक रूपमा धारणा राख्दै आएका जोशीले युवाका मुद्दालाई पार्टीको मूलधारमा स्थापित गर्न आफूले निरन्तर पहल गर्दै आएको बताएका छन्।
उम्मेदवारी दर्तापछि उनले आन्तरिक निर्वाचनमा आफूलाई समर्थन गरी निर्वाचित गराउन कांग्रेसका नेता, अगुवा तथा महाधिवेशन प्रतिनिधिसमक्ष अपिलसमेत गरेका छन्। जोशीले युवाको प्रतिनिधित्वलाई संगठन निर्माण र पार्टीको भावी दिशासँग जोड्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
