युवा राजनीतिको भूमिका जोड्दै दार्चुलाबाट रावलको उम्मेदवारी

दार्चुला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत युवा खुला समूहबाट बिनोद सिंह रावलले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएका रावलले युवाको राजनीतिक सहभागितालाई पार्टी संगठनको सुदृढीकरण र लोकतान्त्रिक अभ्याससँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै रावलले बदलिँदो राजनीतिक परिस्थितिमा युवालाई पार्टीको निर्णय प्रक्रिया र संगठन निर्माणमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार युवाको ऊर्जा, सिर्जनशीलता र नयाँ सोचलाई पार्टीको संगठनात्मक गतिविधिसँग जोड्न सके कांग्रेसलाई थप गतिशील र प्रभावकारी बनाउन सकिन्छ।
उम्मेदवारी दर्तापछि रावलले पार्टीभित्र देखिएको शिथिलता अन्त्य गर्दै युवा पुस्तालाई जिम्मेवारी र नेतृत्वका अवसर उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताए। उनले लोकतान्त्रिक मूल्य, सुशासन, विधिको शासन तथा जनहितका सवालमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
युवा राजनीति केवल निर्वाचनमा उम्मेदवारी दिने विषयमा सीमित नभई नीति निर्माण, संगठन विस्तार, सामाजिक उत्तरदायित्व र जनताका सवाल उठाउने माध्यम बन्नुपर्ने उनको धारणा छ। युवालाई पार्टीको भविष्यका नेतृत्वका रूपमा तयार पार्न नियमित राजनीतिक प्रशिक्षण, अवसर र जिम्मेवारी आवश्यक रहेको रावलले बताएका छन्।
नेपाल विद्यार्थी संघको महाधिवेशन तथा संगठनात्मक विषयमा यसअघि पनि सार्वजनिक धारणा राख्दै आएका रावलले युवाका मुद्दालाई पार्टीको मूलधारमा स्थापित गर्न निरन्तर पहल गर्दै आएको बताए। उनले आफू निर्वाचित भए पार्टी  सुदृढीकरणसँगै जनहितका विषयलाई प्राथमिकतामा राखेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
रावलले आन्तरिक निर्वाचनमा आफूलाई समर्थन गरी निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधि पालिका सभापति तथा  वडा सभापतिहरु समक्ष  अपिलसमेत गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.