तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता असोज १६ देखिसुरु

अन्तरविद्यालय सेभेन–ए–साइड छात्र यू–१६ तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता–२०८३ मा ३२ टिमको सहभागिता 

कञ्चनपुर ।

ज्ञान भण्डारको आयोजना तथा कञ्चनपुर जिल्ला फुटबल संघको सहकार्यमा “अन्तरविद्यालय सेभेन–ए–साइड छात्र यू–१६ तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ।

विद्यालय तहमा फुटबल खेलको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान तथा विकास गर्ने र विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

 

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी हुने भएका छन्। सहभागीमध्ये ९ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन्। प्रतियोगिताका खेलहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगिता संयोजक गौरव बोहराले जानकारी दिए।

 

प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रतियोगिताको उद्घाटन असोज १६ गते गरिने आयोजकले जनाएको छ। प्रतियोगिता घटस्थापना अर्थात् असोज २५ गते सम्पन्न हुने तालिका रहेको छ।

 

प्रतियोगिताको विजेता टोलीले रु. ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले रु. ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादन तथा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले कञ्चनपुरमा विद्यालयस्तरीय फुटबलको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन सम्बन्धित विद्यालय, खेलाडी, अभिभावक तथा खेलप्रेमी सबैमा सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.