महेन्द्रनगरमा युवाशक्तिको पहलमा ऐतिहासिक स्थल पुनर्जीवित

 

महेन्द्रनगरमा युवाशक्तिले देखाएको सक्रियता र समर्पणले एक उदाहरणीय कार्य सम्पन्न भएको छ । युवाहरूमा सच्चा राष्ट्रप्रेम र समाजसेवाको भावना जागृत भएमा सरकारी बजेट वा संघसंस्थाको अनुदान पर्खनु पर्दैन भन्ने सन्देश यहाँका युवाहरूले व्यवहारमै देखाएका छन ।

भीमदत्त नगरपालिका–०४ मा अवस्थित बजारको मुटुमा रहेको एक स्थल, जो केही समय अघि सम्म उपेक्षित र कुरूप अवस्थामा थियो, अहिले आकर्षक र रमणीय स्थलको रूपमा रूपान्तरण भएको छ । अहिले त्यहाँ बटुवाहरू रोकिने, दृश्यावलोकन गर्ने, मोबाइलबाट तस्बिर खिच्ने र समय बिताउनेहरूको भीड लाग्ने गरेको छ । विशेषगरी साँझपख रंगीन बत्तीहरूले सजिएको वातावरण अझै मनमोहक बन्ने गरेको छ ।

यस स्थलसँग जोडिएको ऐतिहासिक पाटो पनि महत्त्वपूर्ण छ । राजा महेन्द्रको शासनकाल पछि राजसंस्था अन्त्य भई गणतन्त्र स्थापना हुने क्रममा यहाँ रहेको उहाँको शालिक हटाइएको थियो । त्यस पछि उक्त स्थानलाई “संविधान चोक” नामकरण गरिएको थियो । इतिहासमा “घुसडी बजार” नामले चिनिने यस क्षेत्रलाई पछि महेन्द्रकै नामबाट “महेन्द्रनगर” नामकरण गरिएको थियो ।

समय सँगै आफ्नो पहिचान गुमाउँदै गएको यस स्थललाई नागरिक समाजका अगुवा तथा युवाहरूको पहलमा पुनः व्यवस्थित गरिँदै राजा महेन्द्रको शालिक पुनः स्थापना गरिएको हो । सरसफाई, सौन्दर्यीकरण र उचित व्यवस्थापन पछि उक्त क्षेत्र अहिले जीवन्त र आकर्षक बनेको छ । हाल यो स्थल आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूले गर्न नसकेको काम युवाहरूले अग्रसर भएर सम्पन्न गरेपछि उनीहरू समाजमा प्रशंसा र बधाईका पात्र बनेका छन्।

स्थानीयहरूको प्रतिक्रिया

भीमदत्त–०४ निवासी सारदा आग्री भन्छिन्,

“म साँझपख बालबालिकालाई यहाँ खेल्न ल्याउने गर्छु । बजारमै घर भए पनि खेल्ने ठाउँ थिएन । युवाहरूको पहलमा यस्तो राम्रो काम भएकोमा हामी खुसी छौं ।”

भीमदत्त–१८ का नारायण सिंह बिष्ट भन्छन्,

“युवाहरूले राष्ट्र निर्माणमा सक्रिय भएर काम गरे राजनीतिक दलभन्दा पनि राम्रो परिणाम दिन सक्छन् भन्ने उदाहरण देखिएको छ । यस्तो कार्य अन्य क्षेत्रमा पनि विस्तार हुनुपर्छ ।”

स्थानीय व्यवसायी सुमित लामेछानेका अनुसार,

“पहिले यहाँ खासै गतिविधि हुँदैनथ्यो । अहिले शालिक पुनः स्थापना र बत्ती सजावटपछि फोटो खिच्ने, बालबालिका खेल्ने र पर्यटक आउने क्रम बढेको छ ।”

युवा अभियन्ता सुजित श्रेष्ठ भन्छन्,

“इतिहास मेटिनु हुँदैन । युवा शक्ति देशको मेरुदण्ड हो, समाजमा हुने गलत कार्यविरुद्ध आवाज उठाउनुपर्छ ।”

त्यसैगरी स्थानीय विजय खत्रीले यस क्षेत्रको नियमित हेरचाह गर्दै आएका छन । उनी दैनिक बिहान बत्ती बन्द गर्ने र साँझ खोल्ने जिम्मेवारी बिना कुनै लाभ पूरा गरिरहेका छन ।

समाजिक अभियन्ता शिशिर थापा भन्छन्,

“हिजोको दिनमा महेन्द्र सरकारले महेन्द्रनगर बस्ती बसाउँदा आदिवासी÷जनजाति चौधरी समुदायले जमिन दान र सहयोग गरेको इतिहास रहेको छ । अहिले शालिक पुनः स्थापना गर्न शिव मन्दिरका बाबा भुवन गिरी (थापा) र राम गिरी (चौधरी)को सहयोग महत्त्वपूर्ण रह्यो ।”

तारा होटलका सञ्चालक तथा युवा अभियन्ता बलराम जोशी भन्छन्,

“सम्पदा मासेर स्थानीय सरकारको बजार विस्तार गर्ने योजना भएको कारणले शालिकप्रति चासो देखाइएको थिएन । यस्तै वेवारीसे अवस्थामा यस ठाउँलाई छोड्दा यो स्थल कुरूप देखिन्थ्यो । युवाहरूको सहकार्यमा पुनः स्थापना सम्भव भयो । इतिहास जोगाउनु प्रत्येक नागरिकको कर्तव्य हो ।”

अन्त्यमा, पछिल्ला पुस्तालाई हाम्रो पुर्खाले रचेको इतिहासबारे स्मरण गराउन र सही मार्गदर्शन दिन यस्ता सम्पदाको संरक्षण आवश्यक छ । ऐतिहासिक स्थलहरूको पुनर्जीवन केवल सौन्दर्यका लागि होइन, पहिचान र चेतनाका लागि पनि

महत्त्वपूर्ण हुन्छ ।

Leave A Reply

Your email address will not be published.