ग्याँसको कृत्रिम अभाव रोक्न दार्चुलामा प्रशासनको छड्के अनुगमन

दार्चुला । बजारमा खाना पकाउने ग्याँसको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले ग्याँस डिलर र सप्लायर्समाथि अनुगमन सुरु गरेको छ ।

उपभोक्ताबाट बजारमा ग्याँस सहज रूपमा नपाइएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली छड्के अनुगमनमा गएको हो ।

अनुगमन टोलीले शनिबार जिल्लाका विभिन्न स्थानमा ग्यासको आपूर्ति, मौज्दात र वितरण अवस्थाबारे छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले शनिबार मात्रै जिल्ला सदरमुकाम क्षेत्रका ११ वटा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको बताए ।

अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको पाइएको प्रशासनले जनाएको छ । यद्यपि ग्यासको वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको अनुगमन टोलीको निष्कर्ष छ ।

टोलीले डिलर तथा सप्लायर्ससँग रहेको ग्यासको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म पुर्‍याइएको वितरणसम्बन्धी अभिलेखसमेत जाँच गरेको थियो ।

अनुगमनपछि सबै व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि सह्य नहुने प्रशासनले चेतावनी दिएको छ ।

उद्योगबाट नियमित रूपमा आएको ग्यास अनावश्यक रूपमा थुपार्ने, वितरणमा विभेद गर्ने वा आपूर्ति हुँदाहुँदै अभाव देखाउने काम भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने दार्चुला प्रशासनले चेतावनी दिएको छ ।

ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास देखिए तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन उनले उपभोक्तासँग आग्रह गरिएको छ ।

यी समाचार पनि पढ्नुस्–

आफ्नो आवश्यकता अनुसार मात्र ग्यास किन्न दार्चुला प्रशासनको आग्रह, अटेरी गरे कारबाही

दार्चुलाका ११ व्यवसायीका गोदाममा छड्के अनुगमन, ५०४ थान ग्यास सिलिन्डर मौज्दात

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.