पूर्वाधार निर्माणमा एमालेको कुनै योगदान छैन, म दावाका साथ भन्छु : बडू

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाका स्थानीय तहमा नेकपा एमाले नेतृत्वमा आएपछि विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा अपेक्षित काम हुन नसकेको दाबी गरेका छन्।

शनिबार नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बडूले कांग्रेसले स्थानीय तहको नेतृत्व गरेका बेला भएका कामको तुलनामा अहिलेका नेतृत्वले नयाँ काम थप्न नसकेको आरोप लगाए।

उनले अहिले जिल्लाका अधिकांश स्थानीय तहमा एमालेले नेतृत्व गरिरहेको उल्लेख गर्दै विगतमा कांग्रेस नेतृत्वमा भएका विकास निर्माणका काम र अहिलेको अवस्थाबीच तुलना गर्न आग्रह गरे।

‘हरेक पालिकामा अहिले एमालेले नै नेतृत्व गरिरहेको छ। हिजो हामीले गरिरहेका थियौँ। कांग्रेसले पाँच वर्षमा कति काम गरेको थियो, वडा–वडामा सडक पुर्‍याएका छौँ। त्यो वडामा नयाँ सडक के बनायौ भनेर ती एमालेका साथीहरूलाई सोध्नुस्,’ बडूले भने।

कांग्रेस नेतृत्वको पाँच वर्षमा वडा–वडासम्म सडक पुर्‍याएको दाबी गर्दै उनले अहिले ती सडकलाई स्तरोन्नति तथा पक्की बनाउने कामसमेत पर्याप्त हुन नसकेको बताए।

‘कहाँ पिच गर्‍यो? हामीले बनाएको सडकलाई एउटा नयाँ सडक बनाए हुन्थ्यो नि ?’ उनले प्रश्न गरे।

बडूले कांग्रेस नेतृत्वमा स्थानीय तहमा सञ्चालन गरिएका सुपथ मूल्य पसललगायतका सेवामूलक कार्यक्रम अहिले निरन्तरता नपाएको दाबी गरे।

‘हामीले वडा–वडामा सुविधा दिने सुपथ मूल्य पसल सञ्चालन गरेका थियौँ। त्यो आज छ कि छैन?’ उनले प्रश्न गरे।

त्यस्तै, नगरवासीलाई यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले नगरबस सञ्चालन गरिएको उल्लेख गर्दै उनले त्यसपछि नयाँ नगरबस थप्न नसकेको भन्दै स्थानीय तहको नेतृत्वप्रति प्रश्न उठाए।

‘हामीले हाम्रो नगरमा नगरबस सञ्चालन गर्‍यौँ। आज एउटा नगरबस नयाँ ल्याए हुन्थ्यो नि। कहाँ छन् ती नयाँ भनिएकाहरू, के गरे तिनले भनेर सोध्यो भने जवाफ छैन,’ बडूले भने।

उनले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका तथा जिल्लाका अन्य गाउँपालिकामा समेत विकास निर्माणको अवस्थाबारे प्रश्न गर्न आग्रह गरे।

‘चाहे त्यो शैल्यशिखर नगरपालिका भन्नुस्, चाहे यहाँको नगरपालिका भन्नुस्, चाहे अन्य गाउँपालिकाको कुरा गर्नुस्,’ उनले भने, ‘त्यस कारणले हामीले यहाँको प्रगतिमा, पूर्वाधार निर्माणमा, खानेपानी, सडक र शिक्षा क्षेत्रमा एमालेको कुनै योगदान छैन, म दावाका साथ भन्छु।’ बडूले कांग्रेस नेतृत्वमा भएका विकास निर्माणका काम र एमाले नेतृत्वमा रहेका स्थानीय तहमा भएका कामको तुलना गरेर हेर्नसमेत आग्रह गरे।

यो समाचार पनि पढ्नुस्–

रास्वपा लक्षित दिलेन्द्र बडूको टिप्पणी– ‘हावाहुरी सधैँ चल्दैन’

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.